चितवन, ११ जेठ । भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले समृद्धिको यात्रा विकास, सुशासन र सुरक्षामार्फत पूरा गर्न सकिने बताएकी छन्।
महानगर प्रमूख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा नेपाल प्रहरीको प्रहरीचौकी स्थापनाको लागि भरतपुर महानगरद्वारा ५ कट्ठा जग्गा हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सुशासन, सुरक्षा र विकास सँगसँगै लैजानुपर्ने बताइन्। उनले शान्त र सुरक्षित समाज निर्माण गरी अमनचयन कायम राख्न प्रहरी चौकी स्थापनाका लागि महानगरपालिकाले जग्गा हस्तान्तरण गरेको बताइन्।
कार्यक्रमको प्रमूख अतिथि दाहालले प्रहरी विद्यालय संचालनका लागि समेत विगतमा जग्गा प्रदान गरेको बताउँदै महानगरपालिकाको विकास, सुशासन र महानगरवासीको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सबै प्रकारको सहयोग निरन्तर रहने बताइन्। उनले देशको मध्यभागमा रहेको भरतपुरमा बढ्दो बसोबास र सवारी चापलाई हाल रहेको प्रहरी संख्याले धान्न नसकिरहेको बताउँदै तत्काल पर्याप्त प्रहरी जनशक्तिको ब्यवस्थापन गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गरिन्।
कार्यक्रममा भरतपुर महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जग्गा प्रदान सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रमका विशिष्ट अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भरतपुर महानगरपालिकाले प्रहरी चौकी स्थापनाका लागि ५ कठ्ठा जमिन प्रदान गरेर नेपाल प्रहरीलाई ठूलो सहयोग गरेकोमा धन्यवाद दिँदै उक्त कदमले यस क्षेत्रको शान्तिसुरक्षा अमनचयन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले तत्कालै सुविधा सम्पन्न प्रहरी चौकी निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै शान्त र सुरक्षित समाज निर्माण गर्नु नै नेपाल प्रहरीको प्रमूख उद्देश्य रहेको भन्दै प्रहरीलाई गल्ती गर्ने कुनै छुट नरहेको बताए। महानिरिक्षक खनालले शान्तिसुरक्षा अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी दर्जालाई निर्देशन दिए। उनले नागरिकसँग सहकार्य गरेर अगाडि बढ्न निर्देशन दिँदै आमनागरिकले प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरे।
भरतपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमूख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा लगायतले मन्तव्य राखेका थिए।



लाेकपाटी न्यूज

