आगलागी किन हुन्छ, कसरी बच्ने ? पढ्नुस् ९ उपाय

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

काठमाडौं । गर्मी महिना लागेसँगै आगलागीका घटना बढ्न थाल्दछन्। गर्मी महिनामा बढी जसो हावाहुरी पनि चल्ने हुनाले सानो आगोको झिल्कोबाट नै भिषण आगलागी हुने खतारा बढ्छ। यो समयमा हामीले आगोलाई एकदमै होसियारपूर्वक प्रयोग गर्नुपर्ने हुन्छ। आगलागी आगोको कारणले मात्र नभएर अन्य विभिन्न कारणले हुने गर्छ।

प्रहरी परिचालन कक्षको अभिलेख अनुसार चैत, वैशाख र जेठ महिनामा सबैभन्दा बढी आगलागीका घटनाहरु हुने गरेको पाइएको छ। २०७४ सालको चैत महिनामा मात्र देशभर गरेर २९३ वटा आगलागीका घटना घटेको देखिन्छ। उक्त घटनकाको विश्लेषण गर्दा आगलागी हुनाका निम्न कारणहरु रहेको पाइन्छः

कारणहरु

१. बिजुलीको तार सर्ट हुनु,
२. भान्सबाट उत्पन्न आगो,
३. एक स्थानमा बालेको आगो अन्यत्र सल्किन पुग्नु,
४. सलाई, लाइटरको लापरवाहीपूर्ण प्रयोग,
५. लामखुट्टे धपाउन भुस बाल्नु,
६. सवारी साधनमा अचानक आगो लाग्नु,
७. थे्रसरबाट गहुँ झार्ने क्रममा अचानक आगो लाग्नु
८. अन्य कारण

यी विभिन्न कारणबाट हुने आगलागीका कारण ठूलो जनधनको क्षति हुने गरेको पाइन्छ। हाम्रो थोरै हेलचेक्य्राईंले गर्दा करोडौंको नोक्सानी हुने गर्छ। त्यसैले यस्ता आगलागीबाट बच्नको लागि निम्न उपायहरु अपनाउन सकिन्छः

उपायहरु

१. सलाई, लाइटर जस्ता आगोजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्नुहोस् ।
२. घरको शयनकक्ष वा अन्य आवश्यक स्थानहरुमा Smoke Detector राख्नुहोस् ।
३. Smoke Detector ले काम गरेको वा नगरेको प्रत्येक महिना चेकजाँच गर्नुहोस् ।
४. अनिवार्य रुपमा घरमा Fire Extinguisher राख्नुहोस्। प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा सबै परिवारलाई जानकारी गराउनुहोस्।
५. आगलागीबाट बच्नको लागि कसरी र कुन बाटो प्रयोग गरेर भाग्ने सम्बन्धमा अभ्यास गर्नुहोस्।
६. आगलागी भएको अवस्थामा वरपर भएका मानिसहरुलाई चिच्याएर जानकारी गराउनुहोस्। सकभर चाँडै बाहिर निस्कनुहोस्। कहिले पनि घरभित्र लुक्ने प्रयास नगर्नुहोस्। घर बाहिर निस्किसकेपछि सबै परिवार आए नआएको एकिन गर्नुहोस्।
७. धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर अथवा घस्रेर निस्कनुहोस्।
८. यदि तपाईंले लगाएको कपडामा आगोले टिप्यो भने कदापि नदौडनुहोस्। दौडिएको अवस्थामा आगो अझ चाँडो बल्ने गर्दछ, त्यसैले रोकिएर आगो निभाएर मात्र भाग्नुहोस्।
९. आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १००, दमकल सेवा १०१ तथा स्थानीय प्रहरीलाई जानकारी गराउनुहोस्।