रामहरि खतिवडालाई बाँस्काेटाकाे कटाक्ष : ‘घडी चाेर्नुभन्दा चाैकीदारी राम्राे’

Gokul Baskota
लाेकपाटी न्यूज

काठमाडौं, ११ जेठ। सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले आफूलाई ‘केपी ओलीका घर कुर्ने चौकीदार’ भनेकोमा आपत्ति जनाएका छन् ।

गृहजिल्ला काभ्रेमा शनिबार आयोजित कार्यक्रममा बाँस्कोटाले खतिवडातर्फ लक्षित गर्दै चोरी डकैतीभन्दा चौकीदारी राम्रो भएको जवाफ दिएका छन्। खतिवडाले केही समय अघि बाँस्कोटालाई ओलीका घर कुर्ने चौकीदार भएको टिप्पणी गरेका थिए । बाँस्कोटा मन्त्री भएदेखि बालकोटस्थित प्रधानमन्त्री ओली निवासमा बस्दै आएका छन् ।

उनले भने, ‘एक जना (रामहरि) ले मलाई प्रधानमन्त्री केपी ओलीको घर कुर्ने चौकीदार भन्नुभएछ । मेरो विचारमा चोरी, डकैती र भ्रष्टाचारी हुनुभन्दा चौकीदार हुनु धेरै राम्रो हो ।’ खतिवडामाथि करिब दुई वर्षअघि एक होटलको क्लबमा महंगो घडी चोरीको आरोप लागेको थियो । तर, घडी धनीले नै खतिवडाले चोरेको नभई उनलाई बदनाम गराउने नियतले कसैले आफ्नो घडी खतिवडाको खल्तीमा राखिदिएको भन्दै वक्तव्य जारी गरेका थिए ।

यस्तै उनले नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापामाथि पनि हमला गरे । थापाले सार्वजनिक कार्यक्रममा बाँस्कोटाको आवाज सुन्ने बित्तिकै मानिसलाई ‘इरिटेटिङ’ हुने भन्दै उनको हुलिया नै खराब रहेको टिप्पणी गरेका थिए । थापातर्फ लक्षित गर्र्दै बाँस्कोटाले बौद्धिक र सम्मानित व्यक्तिहरुले आफ्नो हुलिया खोज्दै हिँडेको भन्दै हुलिया हाजिर रहेको टिप्पणी गरे । थापाले मिडिया काउञ्सिल विधेयकले स्वतन्त्र प्रेसको घाँटी निमोठ्न खोजेको भन्दै बाँस्कोटाको चर्को आलोचना गरेका थिए ।