भरतपुर । भरतपुर महानगरपालिकाले युवाहरूको क्षमता बृद्धि तथा सशक्तिकरणका लागि बुधवार देखी शुक्रबार सम्म नमूना युवा संसद अभ्यास तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गर्यो । भरतपुर स्थित नेपाल निजामती कर्मचारी संगठनको हलमा शुक्रबार झट्ट हेर्दा अनौठो लाग्ने नयाँ बानेश्वरको संसद भवनजस्तै एकाएक रोमान्चित दृश्य देखियो । जहाँ युवा सांसदहरूले संसदको अभ्यास गरेका थिए ।
कोही आफ्नो जातीय पोसाकमा पनि सजिएका थिए । सभामुखको दायाँतिर प्रधानमन्त्री, मन्त्रीहरु र सत्ता पक्ष बसेका थिए भने देब्रेतिर प्रतिपक्षका सांसदहरु लहरै बसेका थिए । संसद हलमा जब बैठक सुचारु भएको जनाउ घण्टी बज्छ ।
हल बाहिर भएका माननीयज्यूहरुको पनि हलभित्र प्रवेश हुन्छ । लगत्तै हलमा सांसद, प्रधानमन्त्री, मन्त्री, मर्यादापालक, दर्शकदीर्घामा रहेका सबै एकैसाथ उभिन्छ्न् । सँगै राष्ट्रिय धुन पनि बज्छ । सभामुखले संसदको क्रमशः शून्य र विशेष समय सुरू भएको जानकारी गराएपछि सांसदहरुलाई बोल्न एक मिनेट र तीन मिनेटको समय दिइन्छ ।
सांसदहरुले देशको समसामयिक राजनैतिक घटनाक्रम, विकास निर्माण, रोजगारी,युवा नीति निर्माण, सामाजिक विकृति र विसंगति, लागूपदार्थ दुव्र्यसनी, युवा सीप रोजगार, युवामा सूचना प्रविधिको पहुँच, युवा क्लबको क्षमता विकास, छुवाछूत तथा लैंङ्गिक विभेद, दाइजो प्रथा, विद्यार्थीको सेवा सुविधा, युवा स्वरोजगार कार्यक्रम, साइवर क्राइम र यसको नियन्त्रण, प्रजनन स्वास्थ्यलगायतका क्षेत्रमा सरकारको काम आफ्नो धारणा तथा प्रश्नहरु राखे ।
त्यसपछि प्रधानमन्त्री र मन्त्रीहरुले सम्बन्धित सांसदहरुले सोधेको प्रश्नको जवाफ दिन थाले । संसद बैठकजस्तै देखिने यो दृश्य भने भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले पहिलो पटक आयोजनामा गरेको नमुना युवा संसद अभ्यास तथा प्रस्तुतीकरण कार्यक्रमको हो ।
महानगरपालिकाभित्रका १६ वर्षदेखि २४ वर्ष उमेरका ६५ जना तन्नेरी युवाहरुले देश चलाउने संसद अभ्यास गरेका थिए । राष्ट्रपतिमा आरती घिमिरे, प्रधानमन्त्रीमा विवेक पोख्रेल, सभामुखमा महेश सापकोटा, गृहमन्त्रीमा पिंकल पन्त, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सोनिका पौडेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री सुमन लामिछाने, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा विनायक खराल, कृषि तथा खेलकुदमन्त्री सरोज देवकोटा, महासचिव सृष्टि लम्साल, मुख्य सचेत प्रिया गैरे, प्रमुख सचेतक सुनिल गैरेलगायतको भूमिका साह्रै लोभ लाग्दो रहेको थियो ।
सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रीपरिषद गठन गरिएको थियो । सहभागीहरुले मर्यादित भएर आफ्ना कुराहरु कसरी राख्ने, सत्ता पक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिनेलगायतका यावत कुराहरु सिकाइ भएको र सबै पक्षलाई समेटेर कसरी टिमको नेतृत्व गर्ने भन्ने सिकाई भएको बताएका छन् ।
तन्नेरीहरुलाई संसदीय प्रक्रियामार्फत राजकीय सत्ता सञ्चालनको अभ्यास गराइएको सो कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उप सचीव माधव ढुंगेलले प्रशिक्षण दिएका थिए । उनले भविष्यमा युवाहरुले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न पनिे अभ्यास आवस्य रहेको बताए । युवा संसदको स्थापना र अभ्यासमा सहभागि लाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
तीन दिने नमुना युवा संसद अभ्यासको शुक्रवार समापन बुधबार बाट शुरु भएको तीन दिने नमुना युवा संसद अभ्यासको शुक्रवार प्रदेश संसद धनश्याम दाहालले समापन गर्दै सांसदले नै सिक्नु पर्ने अवस्थामा युवा हरुले यस्तो अवसर पाउनु को खुसी कुरा भएको बताए । युवा पुस्तामा यस्तो ज्ञान अति आवश्यक रहेको उनको धारणा थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालले आफ्नो कर्तव्यमा युवालाई अग्रसर बनाउँदै राज्यलाई सुझाव दिन सक्ने युवा तयार पार्नको लागि महानगरले यो कार्यक्रम गरेको जानकारी दिइन्।
उनका अनुसार युवा अवस्थामा यस्तो खाले तालीम प्रयोगात्मक हुदा युवालाई देशको नितिनिमार्णमा समेत सहज भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरिन्। महानगरले आगामी नीति तथा कार्यक्रममा युवा लक्ष्यित कार्यक्रमलाई प्राथमिकता दिएको बताइन्। जेष्ठ १९ गते देखि २२ गते सम्म हुने प्रदेश स्तरीय नमुना युवा सांसद अभ्यासमा महानगरले यसै अभ्यासमा सहभागी मध्ये बाट २ जना युवा लाई छनोट गरेर पठाउने भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महासंघ अधिकृत रुद्र शर्माले जानकारी दिए।



लाेकपाटी न्यूज

