काठमाडौं, १० जेठ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले ‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने तयारी गरेको बताएका छन्। मन्त्री विष्टले हरेक नागरिकलाई रोजगारसम्बन्धि सबै जानकारी सहज ढंगले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले रोजगार सूचना प्रणाली स्थापना गर्ने तयारी गरेको बताएका हुन्।
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले सो सूचना प्रणालीमा शिक्षा, सेवा, औद्योगिक उत्पादन, अस्पताललगायतका क्षेत्रमा रोजगारीको अवसर कति छ ? भन्ने तथ्यांक समेत समावेश गरिने योजना पनि अघि सारे। मन्त्री विष्टले बेरोजगारलाई निर्वाह भत्ता दिने नीतिगत निर्णय गरेपछि सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सूचना प्रणालीको पनि विकास गर्न लागिएको बताए।
मन्त्री विष्टले रोजगारीको अवसर नपाएकाहरुलाई जीवन निर्वाहका लागि बेरोजगार भत्ता दिने निर्णय गर्नु परेको पनि बताए। उनले गरिव जनतालाई लक्षित गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन प्रदेश र स्थानीय तहलाई पनि आग्रह गरे।



लाेकपाटी न्यूज

