काठमाडौं, ९ जेठ । नेपालमा पशु कल्याणको सबलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार स्नेहाज केयरको आयोजनामा सम्पन्न भएको अन्तरक्रियामा सरोकारवालाहरुले पशु कल्याण स्थापनाको लागि कानूनको अभाव औंल्याए र भएका कानूनहरुको पनि प्रभावकारी कार्यान्वयनमा समस्या रहेको टिप्पणी गरेका छन् ।
कार्यक्रममा बोल्दै पशु सेवा विभागका महानिर्देशक डा. वंशि शर्माले पशुको कल्याण नै विभागको मूल मन्त्र रहेको बताए । उनले भने, ‘हामीले अहिले पशु कल्याणको लागि काम गरिरहेका छौं । पशु कल्याण निर्देशिका पनि जारी गरिसकेका छौं ।’ शर्माले छाडा पशुहरुलाई हेर्ने जिम्मेवारी आफूहरुको नभएर स्थानीय निकायको भएको पनि जिकिर गरे । यद्यपि उनले पशुसँग जोडिएर आएको विषय भएकोले यसबारेमा विभागले पनि आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए ।
त्यस्तै, कार्यक्रममा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलले पशु कल्याणको आगामी कार्यदिशाको बारेमा प्रकाश पारेका थिए । उनले पशु कल्याण प्रवद्र्धनका लागि मिडियाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे । पशुलाई पनि मानवलाई जस्तै पीँडा हुने भएकोले पशुलाई मानवीय व्यवहार गर्नुपर्ने उनको धारणा थियो । उनले सबैले पशुपन्छीहरुको हितमा काम गर्नुपर्ने सुझाए । उनले जनगणनाजस्तै पशुगणना पनि हुनुपर्ने बताए ।
वातावरण कानूनका ज्ञाता अधिवक्ता पदम बहादुर श्रेष्ठले पशुहरुको अधिकारको लागि सम्बन्धित निकायलाई निरन्तर घचघचाउँदापनि कुनै सुनुवाई नभएकोमा गुनासो पोखे । उनले भने, ‘हाम्रो सुनुवाई नहुँदा बाध्य भएर अदालत जानुपर्यो ।’ श्रेष्ठले पशुहरुको अव्यवस्थित् ढुवानीलाई व्यवस्थित् गर्नको लागि पनि सरकारसमक्ष आग्रह गरे । उनले थपे, ‘पशुहरुको संरक्षण गर्नुपर्छ । अदालतले अहिले पशु कल्याण ऐन बनाउनकोलागि आदेशसमेत दिईसकेको छ ।’
उनले पशुमाथि निर्दयी व्यवहार गर्न नहुने पनि धारणा राखे । उनले पशु कल्याणको लागि स्नेहाज केयरजस्तै अन्य संस्था लागि परे धेरै राम्रो हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, ओआई फोकल प्वाईन्टका प्रतिनिधि डा. किरण पाण्डेले पनि आफुहरु विगत लामो समयदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको सुनाए । उनले भने, ‘छाडा पशु व्यवस्थापनका लागि गौशाला निर्माण सहयोग जुटाएर गर्छौं ।’
कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले आफू विगत ५ वर्षदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको सुनाइन् । उनले पशु कल्याणलाई प्रभावकारी बनाउनको लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको सुनाउँदै आगामी दिनमा पनि यसको भूमिका अझै सशक्त हुनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘मिडियाले सुसूचित गरेपछि अहिले पशुहरुलाई माया गर्नेहरुको संख्या बढेको छ । मिडियाकै कारण पशु कल्याणबारे आम मानिसहरु सुसुचित हुनुभएको छ । यो त हामीजस्तो पशु कल्याणमा काम गर्नेहरुको लागि खुशीको कुरा हो ।’ आजको अन्तरक्रिया कार्यक्रम कपिल काफ्लेले सञ्चालन गरेका हुन् ।



लाेकपाटी न्यूज
