जनधपुरधाम, ९ जेठ। जनकपुरको जानकी मन्दिर लुट्न आएका ८ जना पक्राउ परेका छन्। हतियारसहित आएका ८ जना डाकालाई जनकपुर उपमहानगरपालिका विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई पत्रकार सम्मेलन गरि सार्वननिक गरेको छ। धनुषा प्रहरीले जनकपुरधाम ८ बिहार कुण्डस्थित जानकी बिहारका महन्थ नारायण शरणको वासस्थान लुटिनबाट जोगायो। मन्दिर र महन्थ शरणको बासस्थानबाट नगद र गरगहना लुट्ने उद्देश्यले आएका ८ जना भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुको योजना विफल भएको हो। उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले घेरा हालेर फायरिङसमेत गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले ८ जना भारतीयलाई घेरा हाली नियन्त्रणमा लिने क्रममा उनीहरुको साथमा रहेको हतियार फायर गरी भाग्न लाग्दा जवाफी कारबाही स्वरुप गोली चलाउनु परेको बताए। गोली लागेर एक जना भारतीय घाइते भएका छन्। गोली लागेर घाइते भएका भारतको बिहार राज्य अन्तर्गत समस्तीपुर जिल्ला गदोपुर निवासी २४ वर्षीय रवि मल्लिक डोमको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको खनालले बताए।
प्रहरीले मल्लिकसहित समस्तीपुर जिल्लाकै सिमरी ८ बस्ने २० वर्षीय सहील रजक, पटौरी ३ बस्ने २४ वर्षीय अजितकुमार सिंह, भगवानपुर चक्सीव ४ बस्ने २८ वर्षीय सुजित राय, महोदीनगर ६ का ३० वर्षीय अमितकुमार सिंह, सोही ठाउँको वडानम्बर २ बस्ने २० वर्षीय अमितकुमार यादव, मधुवनी जिल्ला साहरघाट ८ बस्ने ३२ वर्षीय रंजितकुमार भगत र साहरघाट वडानम्बर ८ का ३८ वर्षीय पप्पु भनिने संजयकुमार सुमनलाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट मेड इन यूएसएको एक थान पेस्तोल, त्यसको एक थान म्यागेजिन, २ थान गोली, १ थान खोका, चेम्बरमा गोली लोड रहेको एक थान कटुवा पेस्तोल र त्यसको एक राउण्ड गोली, १ थान खुकुरी, ३ थान मोवाइल, १ थान आधार कार्ड, मोवाइलको व्याट्री एक थान र गाडीको कार्ड १ थान बरामद भएको प्रहरी प्रमुख खनालले जानकारी दिए।



लाेकपाटी न्यूज

