काठमाडौं, ८ जेठ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।उनले सो हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरेका छन्।
गृहमन्त्री थापाले सो घटनामा संलग्न ९ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि जानकारी दिए।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली नै घटनास्थल पुगेको छ।सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए।
गत सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो। सो नौ जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दुरीमा ज्वाइँ मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो।
प्रहरीले पारिवारिक रिसइवीका कारण माखिमले नै हत्या गरेको हुन सक्ने आशंका गर्दै छानवीन प्रक्रियालाई अघि बढाएको छ।



लाेकपाटी न्यूज

