चितवन, ८ जेठ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ५ झुवानीमा असिनापानीले दुई करोड मूल्य बराबरको चैते धानबाली नष्ट गरेको छ।
गत जेठ २ गते बेलुका आएको भीषण असिनापानीले किसानले खेतमा लगाएको धानबाली नष्ट गरेको हो।वडाध्यक्ष कृष्ण महतोले भने, ‘कार्यालयले क्षतिको विवरण संकलन गरेको छ। सबै किसानको लागत संकलन गर्दा करिब दुई करोड मूल्य बराबरको धनबाली नष्ट भएको छ। यो किसानले धान बिक्री गर्दा पाउने पैसामात्र हो’ उनले भने, पराल बिक्रीबाट हुने आम्दानीलाई यसमा जोडिएको छैन।’
झुवानी चैते धान उत्पादनको हिसाबले अब्बल मानिन्छ। यहाँका ९० प्रतिशत किसानले चैते धान लगाउने गरेका छन्। किसानको पाँच कठ्ठादेखि तीन बिघासम्मको धानबाली नष्ट भएको वडाध्यक्ष महतोको भनाइ छ।
असिनापानीले चैते धानसँगै मकै र तरकारी खेती पनि नष्ट गरेको उनले जानकारी दिए।
भित्र्याउने बेला भएको धानबाली असिनापानीले सखाप परेपछि किसानहरु चिन्तित भएका छन्। असिनाले धानको बाला पूर्णरुपमा झारेको छ भने पराल पनि काम नलाग्ने बनाएको छ।असिनापानीले स्थानीय हरि पाठकले तीन बिघा क्षेत्रफलमा लगाएको चैते धान पूर्ण रुपमा नष्ट भएको छ। उनले एक बिघा आफ्नै र बाँकी दुई बिघा जग्गा भाडामा लिएर धान रोपेका थिए। ‘तीन लाख मूल्य बराबरको धान खेतमै नष्ट भयो’ उनले भने, ‘एकहप्ता असिनापानी नआएको भए, धान काटिसक्न्थ्यिो।’
भित्र्याउने बेलाको धान नष्ट भएपछि पाठकले खेतमै ट्याक्टर लगाउने योजना बनाएका छन्। ‘राखेर काट्दा पनि खर्च उठ्दैन’ उनले भने, ‘दुःख पनि हुन्छ, बरू खेतमै ट्याक्टर लगाइदिने योजना बनाएको छु।’स्थानीय किसान कुलप्रसाद पाठकको पनि डेढ बिघाको धान असिनापानीले नष्ट ग¥यो। ‘एउटा गेडा पनि आउँदैन’ उनले भने, ‘अलिअलि बचेको बाला बनि सक्दै गयो ।’
उनले पनि ट्याक्टर लगाएर खेतमै धान जोत्ने योजना बनाएका छन्। ‘राज्य र मिडियालाई देखाउन राखेका हौं’ उनले भने ‘अब राखेर काम छैन, ट्याक्टर लगाउछौं।’ स्थानीय कुमार धमलाको पनि ३ बिघाको चैतेधान पूर्णरुपमा नष्ट भएको छ। ‘हाम्रो मुख्य आम्दानीको श्रोत नै धानबाली हो’ उनले भने, ‘दैवले वर्षभरी खानेबाली सखापै पा¥यो।’ किसान बाबुराम रिजालको पनि दुई बिघा १२ कठ्ठा क्षेत्रफलमा लगाएको धानबाली असिनापानीले नष्ट गरेको छ।
स्थानीय नारायण तिमल्सिना, खिलानाथ अधिकारी, भोला भूषाललगायत २३३ जना किसानले खेतमा लगाएको धान नष्ट भएको वडाध्यक्ष महतोले बताए। ‘असिनाले मकै छियाछिया पारेको छ’ उनले भने ‘तरकारी टिप्ने नमिल्ने गरी नष्ट भएको छ।हामीले क्षतिको विवरण संकलन गरिसकेका छौं’ उनले भने ‘अब क्षतिपूर्तिको लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग पहल सुरू गर्छौं।’
अनिसापानीले रत्ननगरका अन्य ठाउँसँगै खैरहनीको कुमरोजमा पनि धानबाली नष्ट गरेको छ। किसानहरुले चैतको पहिलो हप्ता रोपेर असारको पहिलो हप्ता धान भित्र्याई सक्छन्। एक बिघा क्षेत्रफलमा धान रोक्नेदेखि भित्र्याउने समयसम्म ५० हजार रुपैयाँँ खर्च हुन्छ। किसानहरुले लगानी गरेको पैसा, धान र पराल बिक्रीबाट हुने आम्दानी सबै गुमाएका छन्।



लाेकपाटी न्यूज
