रीउ नदी–घाँघर खोला सडक स्तरोन्नतिको काम सुरु

Pich
फाइल फोटो
लाेकपाटी न्यूज

चितवन, ७ जेठ । रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले सडक स्तरोन्नतिको काम सुचारु गरेको छ । निर्माण सेवाले खाल्डाखुल्डी पुर्ने, भत्किएको पिच फोर्ने र ग्राभेलिङको काम सुरु भएको हो ।

जेठ महिनाभित्र मात्र खोलाबाट गिट्टी ढुंगा निकाल्न पाइने भएकाले हाल तीव्र गतिमा काम अगाडि बढाइएको आशिष निर्माण सेवा अन्तर्गतको भरतपुर माडी ठोरी हुलाकी बाटोका कन्ट्रयाक्ट म्यानेजर रोहित भट्टराईको भनाई छ ।

कालोपत्रे गर्न आवश्यक गिट्टी, बालुवा, कंक्रिट, चिप्स लगायतका सामानको अभाव देखाउँदै ठेकदार पक्षले कालोपत्रेको काम स्थगित गरेकोमा अहिले काम सुचारु गरेको हो । ठेक्का अनुसार १५.२ किलोमिटर सडकमा सब ग्रेड, ग्राभेल (सब वेश) र कालोपत्रेको सम्पूर्ण काम बाँकी रहेको छ । सडकको स्ट्रक्चर अन्तर्गत नाला कल्भर्ट, टेवा पर्खाल, ह्युमपाइप र ढुंगाको ग्याबिन जाली निर्माणका कामहरु भने यसअघि नै लगभग सकिएको छ ।

करीब ७ मिटर चौडाई रहने कालोपत्रे बाटोको दुबै छेउमा नालासहित १० मिटर चौडाई कायम रहने जनाइएको छ । २०७३ साल माघमा सर्भे गरी काम सुरु गरेको आशिष निर्माण सेवाले गत बर्ष माघ ९ सम्म काम पुरा गर्नुपर्ने समयसीमा रहेपनि कंक्रिट लगायतका निर्माण सामग्रीहरु नपाएको भन्दै कालोपत्रेको काम बाँकी राखेको थियो । बनकट्टादेखि बगहीँसम्मको सडक एक दशकअघि कालोपत्रे भएकोमा हाल ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी बनेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्