सैनिकको हवाई आक्रमणमा १६७ सर्वसाधारणको मृत्यु

लाेकपाटी न्यूज

काठमाडौं, ७ जेठ । सैनिकले गरेको हवाई आक्रमणमा परी अहिलेसम्म १ सय ६७ सर्वसाधारणको मृत्यु भइसकेको छ। गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा भएको आक्रमणमा गत अप्रिल २५ देखि हालसम्म १ सय ६७ जनाको हत्या भएको हो ।

इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास रहेको जनाइएको छ । गत आइतबार मात्र पनि रुसको नेतृत्वमा सिरियाली सैनिकले गरेको हवाई आक्रमणमा कम्तिका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

हवाई आक्रमणका कारण पाँच बालबालिकाको ज्यान गएको बेलायत आबद्ध मानवअधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले पुष्टी गरेको छ । रुसले इड्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि गत आइतबार पुनः हवाई आक्रमण भएको थियो ।

इडलिब प्रान्तको कफ्रान्बेल शहरको एक अस्पताल नजिक रुसको नेतृत्वमा हवाई आक्रमण भएको अब्जरभेटरीले जानकारी दिएको छ । सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा अल–कायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूह हाबी हुँदै गएका छन् ।

सिरियामा जारी द्वन्द्वका कारण सन् २०११ देखि हालसम्म ३ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौंको सङ्ख्यामा घाइते भएका छन् भने अरु बीसौं लाख मानिस सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । – एजेन्सीकाे सहयाेगमा