पाँचथर हत्याकाण्ड : संसदमा गृहमन्त्रीसँग मागियो जवाफ

samsad_
लाेकपाटी न्यूज

काठमाडौं, ७ जेठ । पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाही गर्न प्रतिनिधिसभाका सांसदले माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।

उनले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरिन् । पाँचथरमा सोमबार राति भएको सो घटनामा अपरिचित समूहले दुई परिवारका नौ जनाको हत्या गरेको थियो । सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने बताए ।

सांसद टेकबहादुर बस्नेतले सल्यानमा गत वैशाख २७ देखि यही जेठ ४ गतेसम्म लागेको वन डढेलोबाट तीन जनाको निधन भएको र ठूलो धनमालको क्षति भएको जानकारी दिँदै सो घटनामा निधन भएकाहरुको परिवारलाई राहत, घाइतेको उपचार र क्षतिपूर्ति भएकाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिलेन्द्रप्रसाद बडूले एक महिनामा तरकारीको मूल्य दोब्बर भएको र बिचौलियाको बिगबिगी बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद नमिताकुमारी चौधरीले सर्लाहीमा आगो लगाएर महिलाको हत्या भएको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरिन् । सांसद नरमाया ढकालले स्थानीय तहमा कर्मचारीको कमीका कारण काम गर्न चुनौती देखिएको छ भन्दै त्यसको उचित व्यवस्था गर्न माग गरिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्