काठमाडौं, ७ जेठ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघ विघटनको जिम्मा शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्। उनले नेविसंघको विघटन पार्टी सभापति शेरबहादुर देउवाले नै गरेको आरोप लगाएका हुन्।
नेपाल विद्यार्थी संघ विघटनप्रति असन्तुष्टि जनाएक उनले प्रश्न गरे, ‘त्यसको जिम्मेवारी सभापतिले लिने कि नलिने?’ सरकारप्रति निकै आक्रामक देखिएका नेता पौडेलले सरकारको चर्को आलोचना गरेका थिए। रातो झण्डा ओढेका अपराधीलाई उन्मुक्ति दिन प्रेसको मुख थुन्ने गरी कानून बनाउन सरकार लागि परेकोसमेत उनको आरोप छ।
सरकार संघीयताविरोधी रहेको आरोप लगाउँदै पौडेलले भने, ‘संघीयताको मर्मविपरीत सबै कुरा केन्द्रीकृत गर्न प्रधानमन्त्री आफैँ लागेका छन्।’प्रधानमन्त्री झन् शक्तिशाली बन्दै गएको प्रति आपत्ति जनाएका पौडलले कम्युनिस्ट कार्यकर्ताको नयाँ वर्ग जन्माउने कार्य गरेको आरोप लगाए।
कार्यक्रममा उनले कांग्रेसलाई ओरल्ली, मोरल्ली र पोलिटिकल्ली मैदानमा उत्रन सक्ने पार्टी बनाउन जोड दिए। ‘हामीमा उचो शीर गरेर बोल्न सक्ने क्षमता राख्न जरुरी छ, उनले भने, हाम्रो सिद्धान्तको विजय हुने तर हाम्रो पार्टीले चुनाव किन र्हायो त्यसको समीक्षा हुन जरुरी छ।’
सभापतिले मूल्याङकनका आधारमा पार्टी चलाए साथ दिने उनले बताएका थिए। ‘म उहाँलाई साथ दिन तयार छु। तर उहाँले मूल्यांकनका आधारमा पार्टी परिचालन गर्नुभएन, उनले भने, असन्तुष्टि सम्बोधन गर्नु मेरो बाध्यता हो।’



लाेकपाटी न्यूज

