भ्रष्टाचार गरेकाे प्रमाणित भए झुण्डिएर मर्छु : कुलमान घिसिङ

https://archive.lokpati.com/wp-content/uploads/2018/09/Kulaman-Ghising.jpg
लाेकपाटी न्यूज

काठमाडौं, ७ जेठ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन्।

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए \ नभएको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन गरिएको पनि स्पष्ट पारेका छन्। मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको बताएका हुन्।

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए। उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन दुईवटा छानवीन समिति गठन गरेर कामलाई अघि बढाइएको स्पष्ट पारेका थिए।

यता, समितिका सदस्य एवं सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए। उनले त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ? भनि गम्भिर प्रश्न  उठाए। सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरे।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा टंक लाईनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानूनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन। यता, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने नियम अनुसारनै तिर्नुपर्ने शुल्क तीर्न उद्योगी र व्यवसायीहरुलाई पत्राचार गरिएको बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्