काठमाडौं, ६ जेठ । भरतपुर–माडी–ठोरी हुलाकी राजमार्ग विस्तारको कार्य शुरु भएको छ। माडी–रिउ–देवेन्द्रपुर खण्डमा अन्य काम सकिए पनि कालोपत्रेको काम बल्ल सुरु हुन लागेको हो ।
करिब ११ वर्षअघि कालोपत्रे भएको सडकको कालोपत्रे उक्किसकेको थियो । १५.२ किलोमिटरमा दुई लेनको कालोपत्रे गरिँदैछ । सडकका लागि चाहिने गिटी बालुवा माडीकै खोलाबाट निकाल्ने गरी ठेक्का सम्झौता भएपनि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरेकाले चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले उत्खननमा रोक लगाउँदै आएपछि कामले गति लिन सकेको थिएन । भरतपुरस्थित डिभिजन सडक कार्यालयले वि.सं. २०७३ माघ ५ गते आशिष निर्माण सेवा प्रालिसँग सम्झौता गरेको थियो ।
२० करोड ४२ लाख रुपैयाँ लागतमा बन्न लागेको सडक गत माघमै पुरा भइसक्नुपर्ने भएपनि ढिलाई भएको छ । आशिष निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर इञ्जिनियर रोहित भट्टराईले मगुई खोलाबाट नदीजन्य सामाग्री ल्याएर सडक निर्माणको काम गर्न लागिएको बताए। कालोपत्रेको काम माडी प्रवेशद्वार बनकट्टाबाट शुरु हुनेछ । गिट्टी–बालुवा मकवानपुरको मनहरीदेखि ल्याउँदा निकै समस्या हुने गरेको उनले बताए। नदीजन्य पदार्थको समस्याले कालोपत्रे काम अलपत्र पर्दै आएको थियो ।
ठोरी नाका सञ्चालनमा ल्याउन नेकपाका अध्यक्ष एवं चितवन क्षेत्र नं–३ का सांसद प्रचण्डले निरन्तर पहल गर्दै आएका छन्। प्रचण्डकै पहलमा उक्त सडक खण्डको कालोपत्रे गर्ने काम शुरु भएको हो।



लाेकपाटी न्यूज

