काठमाडौं, ६ जेठ । प्रहरीलृ विभिन्न अभियोगमा लाई पक्राउ गरेको छ। काठमाडौं रानीबारी बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका ३० वर्षीय काले भनिने विष्णु तामाङलाई १ थान कटुवा पेस्तोल र सो को गोली ५ थानसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै टोखा नगरपालिका ७ धापासीस्थित उकालोमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीमाथि गोली प्रहार गर्न खोजेकाले प्रहरीले आत्मसुरक्षाको लागि १ राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । घुँडामुनी गोली लागेर घाइते भएका तामाङलाई उपचारको लागि वीर अस्पताल लगिएको छ ।
तामाङ ६ वर्षसम्म डाँका मुद्दामा केन्द्रीय कारागारमा रही २०७२ भदौ ६ गते कैद मुक्त भई हाल विभिन्न चोरीमा संलग्न रही फरार रहेकोले प्रहरीले खोजी गर्दै आएको थियो ।
लागूऔषधसहित पक्राउ
काठमाडौको चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट बारा सिङ्गोल नगरपालिका ८ घर भएका १८ वर्षीय सन्तोष नेपालीलाई अवैध लागूऔषध ब्राउन सुगर १.१६ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ८२८६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सन्तोषलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बरको ढाटबाट सोही महानगरपालिका १४ बस्ने १९ वर्षीय दिपेश सिंह ठकुरीलाई नियन्त्रित लागूऔषध डाईजोल्याब ३ एम्पुल, फेनारगन ३ एम्पुल, ऐभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नगद ठगीको अभियोगमा पक्राउ
नगद ठगी गरेको अभियोगमा ग्रामथान ६ बनिगाउँ बस्ने ३० वर्षीया मिना चौधरी र आशु कुमारी चौधरी आइतबार दिउँसो पक्राउ परेका छन् । मिना र आशु कुमारी समेत ३ जनाले बेलबारी ९ डागा बजार बस्ने ३५ वर्षीय धनु खवास लगायत २० जनालाई भेला जम्मा गरी आफूहरु आरएन बैंक बिराटनगरबाट आएको र बिना धितो तत्काल २ लाख ऋण दिन्छौ भनि उनीहरुको नागरिताको फोटोकपी र नगद ५ हजारका दरले १ लाख ६ हजार रुपैयाँ उठाएर लिएका थिए ।
उनीहरुले ठगी गरेको बुझिन आएकोले पीडितहरुले नै दुबै जनालाई फेला पारी कानुनी कारबाही गरी ठगी भएको रकम अशुल उपर गरी दिनहुन भनी अस्थाई प्रहरी चौकी डाँगा बजारमा बुझाएका हुन् । ठगीमा संलग्न फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जुवातास खल्ने १४ पक्राउ
काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा बाँके घर भएका ३९ वर्षीय नबिन राउत लगायत ९ जनालाई १ बुक तास र नगद ४६ हजार रुपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले पार्किङ गरी राखेको ना.७ ख ५६२८ नम्बरको बसमा जुवातास खेलीरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका ४ स्थित पसलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय कोभानु घिमिरे सहित ५ जनालाई नगद १६ हजार ५ सय रुपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
श्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ
चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट सर्लाही मलगंवा नगरपालिका १० बस्ने २८ वर्षीय रविन्द्र रायलाई श्रोत नखुलेको नेपाली रुपैयाँ २९ लाख ९८ हजार सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख १८०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा ल्याएको श्रोत खुलाउन नसकेको उक्त नेपाली रुपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रविन्द्रलाई बरामद भएको श्रोत नखुलेको नेपाली रुपैयाँ सहित आवश्यक कारवाहीको लागि सम्पत्ती शुद्धिकरण विभाग पठाइएको छ ।
अर्काको नाममा परीक्षा दिने पक्राउ
नागार्जुन नगरपालिका २ सानोभर्याङ यातायात व्यवस्था कार्यालयस्थित ट्रायल सेन्टरमा अर्काको नाममा परीक्षा दिन लागेका सुर्खेत बीरेन्द्रनगर नगरपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने १८ वर्षीय बिनोद शाहीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शाहीलाई सुर्खेत बीरेन्द्रनगर घर भएका २३ वर्षीय नबिन चौलागाईको मोटरसाइकलको ट्रायल परीक्षा दिन लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहेको छ ।



लाेकपाटी न्यूज

