आगजनीमा म संलग्न छैन : सांसद खनाल (विज्ञप्ति)

Krishna Khanal
लाेकपाटी न्यूज

चितवन, ६ जेठ । भरतपुर महानगरपालिका गोन्द्राङमा रहेको ढाटमा भएको आगजनी घटनामा आफ्नो नाम मुछेर अनावश्यक अर्नगल प्रचार गरिएकोभन्दै प्रदेश सांसद कृष्ण खनालले आपत्ति जनाएका छन्। खनालले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै सांसदको संलग्नतामा प्रहरीमाथि आगजनी भएको भन्दै प्रचार गरिएकोप्रति आपत्ति जनाइएको छ।

जारी विज्ञप्तिमा दासढुङ्गामा भएको कार्यक्रम सकेर रत्ननगर घरमा जाने क्रममा ढाटमा भेला भएका भीडले जनप्रतिनिधिले बोल्नुपर्ने भन्दै रोकेपछि आफू त्यहाँ रहेको जनाएका छन्। भरतपुर सदरमुकाम आउने जाने क्रममा ढाटमा रहेको कर्मचारीले पटकपटक शुल्क लिएर दुःख दिएको भन्दै हटाउन माग गरेका थिए।

सोही विषयलाई लिएर सडक प्रयोगकर्ताहरु भीड भएपछि त्यसलाई समाधान गर्ने उद्देश्यले आफू त्यहाँ रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। जनप्रतिनिधिको हैसियतले भीडलाई सामान्य बनाउन आफू त्यहाँ भएको बेला भीडबाट कसैले अकस्मात फालेको पेट्रोल लागेर प्रहरी असर कल्पना पौडेल घाइते भएको घटनाले आफूलाई दुःख लागेको जनाएका छन्।

घाइते प्रहरीको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। आगजनी गर्ने उद्देश्य आफ्नो नभएको, भीडलाई उत्तेजित पार्ने उद्देश्य आफ्नो नहुँदा पनि घटनामा जवरजस्ती दोषी ठहर्‍याएर आफ्नो मान मर्दन गरेको भन्दै उनले आपत्ति जनाएका छन्।

यस्तो घटनालाई लिएर केही सञ्चारमाध्यमले मेरो भनाइसमेत नराखी ‘सांसदको संलग्नतामा प्रहरीमाथि आगजनी’ भन्नेजस्ता अतिरन्जित, अनर्गल र कपोलकल्पित ढंगले समाचार सम्प्रेषण भएको भन्दै आपत्ति जनाए। घटनामा मेरो संलग्नता भनी सम्प्रेषण गरिएको समाचारप्रति भत्र्सना र खण्डनसमेत गर्दछु, विज्ञप्तिमा भनिएको छ।

प्रेस विज्ञप्ति

भरतपुर महानगरपालिकास्थित गोन्द्राङ ढाटको आगजनीको घटनाप्रति अतिरञ्जित ढंगले सांसद्को संलग्नता भन्दै विभिन्न सञ्चार माध्यमलगायत सामाजिक सञ्जालमा मेरो नाम जोडिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

मिति २०७६ जेठ ३ गते मदन–आश्रित स्मृतिसभाको कार्यक्रम सकी दासढुंगाबाट मेरो घर रत्ननगर १० तर्फ फर्किने क्रममा सो कर संकलन ढाटमा पुग्दा म पुग्नुभन्दा अगावै ढाटमा भेला भएका केही मानिसहरुको समूहले तपाई हाम्रो जनप्रतिनिधि भएकोले बोलिदिनु पर्‍यो भनी आग्रह गरेपछि एउटा जनप्रतिनिधिको हैसियतले सामन्जस्य ल्याउने उद्देश्यले केही कुरा बोल्दै गर्दा भीडबाट कसैले अकस्मात फालेको पेट्रोलमा लागेको आगोले प्रहरी कर्मचारी असई कल्पना पौडेल घाइते हुनुभएको हो।

उक्त घटनाप्रति म अत्यन्त दुःख व्यक्त गर्दछु र, घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछु। यस्तो घटनालाई लिएर केही सञ्चारमाध्यमले मेरो भनाइसमेत नराखी ‘सांसदको संलग्नतामा प्रहरीमाथि आगजनी’ भन्नेजस्ता अतिरञ्जित, अनर्गल र कपोलकल्पित ढंगले समाचार सम्प्रेषण भएको पाइएकोले म अत्यन्त दुःखी भएको छु। उक्त घटनामा मेरो संलग्नता भनी सम्प्रेषण गरिएको समाचारप्रति म घोर भत्र्सना र खण्डनसमेत गर्दछु।

पत्रकारिता सत्यतथ्यमा आधारित, जिम्मेवारी र जवाफदेहितासहितको हुनुपर्दछ, यो लोकतन्त्रको सबल पक्ष पनि हो। सत्यतथ्यभन्दा बाहिर गएर गरिएको पत्रकारिताले लोकतन्त्रलाई बलियो पक्कै बनाउँदैन भन्ने मेरो मान्यता रहेको छ। पूर्वी चितवनका जनता पटकपटक जिल्ला सदरमुकाम भरतपुर आवात जावत गर्ने क्रममा उक्त ढाटमा विवादहरु सिर्जना हुने गरेका छन्। र, सरोकारवालाहरुले विगतदेखि नै उक्त ढाट हटाउन माग गर्दै आएको कुरा सर्वविदितै छ।

वास्तवमै सडक करको नाममा जिल्लाभित्रकै अर्को नगरका जनतालाई प्रत्यक्ष असर पर्ने गरी ढाट राखिनु सर्वथा उचित होइन। बाहिरी जिल्लाको अवस्था हेर्ने हो भने पनि जिल्लाका शून्य स्थानमा नै ढाट रहेको पाइन्छ। अर्कोतर्फ यो ढाट राखिएको स्थान निकुञ्जबाट महाभारततर्फ जाने वन्यजन्तुको प्राकृतिक बाटो (कोरिडोर) भित्र परेको सर्वविदितै छ। यसअघि टिकौली चौरमा शिलान्यास समेत भइसकेको रंगशाला वन्यजन्तुलाई असर पर्ने भन्दै वन कार्यालयले रोक लगाएको अवस्था छ भने हालै टिकौलीमा बनेको शौचालयसमेतको प्रयोगमा वनले नै वन्यजस्तुलाई असर पर्ने भन्दै रोक लगाएको छ। यसरी पूर्वी चितवनका जनता र राष्ट्रिय निकुञ्जलाई प्रत्यक्षरुपमा असर पार्ने उक्त ढाट यथासम्भव जिल्लाको शून्य स्थानमा स्थानान्तरण गर्नुपर्छ भन्ने मेरो माग पनि हो।

यसर्थ ममाथि लगाइएका सबै आरोपहरु झुठा र आएका समाचार अतिरन्जित भएको सम्पूर्ण सञ्चारमाध्यम र जनसमुदायलाई जानकारी गराउँदै सोहीअनुसार सम्प्रेषण गरिदिन हुन आग्रह गर्दछु, र हालमा गोन्द्राङमा रहेको सडक कर उठाउँदै आइएको उक्त ढाट जिल्लाको शून्य स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु।

कृष्णप्रसाद खनाल

केन्द्रीय सदस्य, नेपाल कम्युनिष्ट पार्टी एवं सांसद, प्रदेशसभा, चितवन क्षेत्र नं.–२ (ख)