गणतन्त्र र संघीयताविरोधी सल्बलाए : प्रचण्ड

Chair-Dahal-Prachanda-1-750x430
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नचाहने हिजोको एकात्मक शासन प्रणली नै ठिक थियो भन्नेहरु आज अलिअलि सल्बलाउन थालेको बताएका छन्। संघीय संरचना अनुसार भौतिक पूर्वाधार र केही ऐनहरुको व्यवस्थाको कमिको कारणले त्यस्ता तत्वहरु सल्बलाउन थालेको भन्दै उनले यस्तो बताएका हुन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा सिंहदरबारको अधिकार टोलटोल र गाउँगाउँमा पुर्याउने भन्ने मान्यता अन्तर्गत राज्य संरचनाको तीन तह बनाएको बताउँदै पहिलाको एकात्मक शासनले जनअपेक्षा पूरा हुन नसकेको बताए। उनले भने, ‘हिजोको हाम्रो केन्द्रिकृत प्रणालीबाट जनतालाई जे जति दिनुपर्ने हो त्यो दिन नसकेको महसुस गर्दै हामीले नयाँ संविधानमा यो प्रावधान राखेका हौं।’

उनले तीनै तहको निर्वाचन पश्चात् अहिले स्थानीय, प्रादेशिक र संघीय तीनै तहका सरकारले काम गरिराखेको बताएका छन्। यो नयाँ संरचना भएको हुनाले त्यस्को निम्ति आवश्यक पर्ने पूर्वाधारको कमिको कारणले, बजेट व्यवस्थापनदेखि लिएर निर्माण हुन बाँकी आवश्यक केही कानूनी कुराले जे अपेक्षा गरिएको थियौ त्यो पूरा हुन अझै बाँकी रहेको समेत उनले बताए। उनले भने, ‘यद्यपि पार्टीहरु र सरकारहरुको ध्यान भने त्यतापट्टी केन्द्रित भएकै छ।’

उनले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न आफूहरुले मेहनत गर्ने बताएका छन्। उनले भने, ‘भौतिक पूर्वाधार र केही ऐनहरुको कमिको कारणले कतिपय संघीय लोकतान्त्रिक गणतन्त्रलाई नचाहने हिजोको एकात्मक शासन नै ठिक थियो भन्नेहरु सल्बलाउन थालेको बताए। तर, हामीले अब छिटै भौतिक पूर्वाधारको समस्या पनि समाधान गर्ने, जनतालाई दिने सेवामा पनि गुणात्मकता वृद्धि गर्ने, विकास निर्माणलाई पनि एउटा नयाँ गति दिने र समृद्ध नेपाल सुखी नेपालीको जुन आकाङ्क्षा राखिएको छ, त्यो पूरा गर्नको लागि सरकारले मेहनत गर्नेछ।’