काठमाडौं, ६ जेठ। अनिलकुमार झा प्रतिनिधिसभाको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी ‘राजपा’को पाँचौ संयोजक भएका छन्। पार्टी एकता भएको दुई वर्ष बित्दा नबित्दै ‘राजपा’ ले पाचौँ संयोजक पाएको हो।
विभिन्न ६ मधेशवादी दल मिलेर ६ वैशाख ०७४ मा एकता भएका राजपाको पाचौँ संयोजकको जिम्मेवारी आजदेखि अनिलकुमार झाले सम्हाल्दैछन्। चक्रीय प्रणाली र बरियताक्रम अनुसार अध्यक्ष मण्डलको संयोजक चुनिने विधानको व्यवस्था अनुसार पाचौँ संयोजकको जिम्मेवारी झाले पाएका हुन्।
चक्रीय प्रणाली अनुसार पालैपालो अध्यक्ष मण्डलको संयोजक हुने व्यवस्था भएपनि लामो समय महन्थ ठाकुरले यो जिम्मेवारी सम्हालेका थिए। तर, गत मंसिरमा ठाकुरको अनिच्छाका बाबजुद राजेन्द्र महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाउने निर्णय अध्यक्ष मण्डलको बहुमतले गरेको थियो।
त्यसयता महतो, महेन्द्र राय यादव, शरदसिँह भण्डारीले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हालिसकेका छन् र भण्डारीपछि झाले पालो पाएका छन्। झापछि राजपाको ६ सदस्यीय अध्यक्ष मण्डलमा संयोजकको जिम्मेवारी पाउने पालो राजकिशोर यादवको छ। यादवपछि फेरि दुई महिनाका लागि ठाकुर नै संयोजक हुनेछन्।
शुक्रबारदेखि आइतबारसम्म बसेको राजपा अध्यक्ष मण्डलको बैठकले चक्रीय प्रणाली अनुसार झालाई पाचौँ अध्यक्ष बनाउने निर्णय गरेको थियो। यसअघि दुई बर्षभित्र महाधिवेशन गर्ने व्यवस्था पार्टीको अन्तरिम विधानमा भएकोमा त्यसलाई संसोधन गरी ३ बर्ष बनाइएकाले आगामी एक बर्षसम्म पालैपालो संयोजकको जिम्मेवारी पाउनेछन्।



लाेकपाटी न्यूज

