काठमाडौं, ५ जेठ। मिडिया काउन्सिल सम्बन्धि विधेयकका प्रावधान प्रेस स्वतन्त्रता कुण्ठित पार्ने किमिसको रहेको भन्दै आन्दोलित नेपाल पत्रकार महासंघले संघर्षका थप कार्यक्रम घोषणा गरेको छ।
महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सकिदा समेत माग सम्वोधनका लागि सरकारले कुनै पहल नगरेको भन्दै थप कार्यक्रम घोषणा गरेको हो। भोली सोमबारदेखि जेठ २५ गतेसम्म जारी रहने गरी विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय भएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए।
जसअन्तर्गत भोली र पर्सी महासंघका पूर्वअध्यक्षहरुसँग छलफल गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग सञ्चार अभियान सञ्चालन गर्ने, १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने र जेठ १६ र १७ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने कार्यक्रम छ।
यस्तै जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा सो विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल गर्ने, जेठ २१ र २२ गते महासंघका जिल्ला शाखाहरुले र जेठ २३ र २४ गते केन्द्रमा सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यत्रम छ।
यस्तै जेठ २५ गते राजधानीको बानेश्वरदेखि बरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने र उपत्यका बाहिर प्रदेश राजधानीमा सोही खालको प्रदर्शन गर्ने निर्णय भएको महासंघका महासचिव विष्टले जानकारी दिए।
यस्तै, मिडिया काउन्सिल विधेयक संसदमा पेश हुने दिन देशव्यापी रुपमा विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ।



लाेकपाटी न्यूज
