काठमाडौं, ५ जेठ । भोजपुरे सर्जकहरुको संयुक्त गजल सङ्ग्रह ” खुकुरीका धारहरु” को लोकार्पण गरिएको छ। आधुनिक साहित्य परिषद र गौरी पब्लिक रिलेशन एन्ड पब्लिकेशनको आयोजनामा उक्त कृतिको लोकार्पण गरिएको हो।
डा. केदार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी सहित विशिष्ट अतिथी डा. नरनाथ लुईंटेल र साहित्यकार डा. शैलेन्दु प्रकाश नेपाल र कृतिका सम्पादक नवीन प्रधानले संयुक्त रुपमा कृति विमोचन गरेका थिए। कृति विमोचन पछि मन्तव्य दिँदै सम्पादक प्रधानले धेरै समय अगाडिदेखिको भोजपुरे सर्जकहरुलाई समेट्ने सपना पूरा भएको बताउँदै कृतिलाई बजारमा ल्याउन सहयोग गर्ने सबैप्रती धन्यवाद दिएका थिए।
उनले आफ्नो सपनाप्रती सकरात्मक भै अहोरात्र खट्ने बाबुराम लुईंटेल, पर्शुराम कार्की लगायत प्रकाशक र अग्रज साहित्यकारप्रती आफू खुसी रहेको भन्दै भोजपुरको साहित्यिक इतिहासमा खुकुरीका धारहरुले एउटा ईंटा थप्ने अपेक्षा समेत व्यक्त गरे।
यसैबीच आधुनिक साहित्य परिषदको आयोजनामा विशेष गजल तथा कविता वाचन पनि राखिएको थियो। जसअन्तर्गत अग्रज साहित्यकारदेखी अहिलेका युवा साहित्यकारसम्मलाई समेटिएको थियो। कार्यक्रममा विशेष गजल तथा कविता वाचनमा भोजपुरमा जन्मिएर साहित्य कर्मलाई अगाडि बढाइरहेका स्रष्टा डा. शैलेन्दु प्रकाश नेपाल, महेश क्षितिज, दामोदर ढकाल’दीपक’ , नवीन प्रधान, सुनिता सापकोटा र बि एन ढकालले आफ्ना रचना वाचन गरेका थिए।
डा. विप्लव ढकाल भने अस्वस्थताका कारण उपस्थित हुन सक्नु भएको थिएन। कार्यक्रममा उपस्थित स्रष्टाहरुका समेत रचना वाचन गरिएको थियो। कार्यक्रममा आफ्नो मन्तव्य दिँदै साहित्यकार एवम् समीक्षक डा. नरनाथ लुईँटेलले कार्यक्रमा वाचित रचनाहरुबाट आफू प्रभावित भएको बताएका थिए।
भोजपुर राजनीतिक, शैक्षिक, कला साहित्यिक लगायतका क्षेत्रमा अगाडि रहेको भन्दै उनले पछिल्लो समयका स्रष्टाहरुले प्रख्यात भोजपुरे खुकुरीको जस्तै धारिला सिर्जना गर्न थालेको प्रती खुसी व्यक्त गरे। त्यस्तै प्रमुख अतिथी डा. केदार न्यौपानेले भोजपुरको साहित्यलाई नहेर्ने हो भने नेपाली साहित्य अधुरो हुने बताउँदै पछिल्लो समय छरिएर रहेका सर्जकलाई खुकुरीका धारहरु गजल सङ्ग्रहले एकत्रीत गर्न भूमिका खेलेको बताए।
उनले भोजपुरका साहित्य स्रष्टाहरु एक हुन आवश्यक रहेको भन्दै सो कृतिले एकताका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रमका सभापती, कवि तथा आधुनिक साहित्य परिषदका अध्यक्ष मुरलीप्रसाद ढकालले भोजपुरे सर्जकहरुसँग सहकार्य गर्दै अगाडि बढ्न पाएकोमा खुसी व्यक्त गर्दै कृति सफलताको शुभकामनासहित कार्यक्रमको समापन गरेका थिए।



लाेकपाटी न्यूज

