काठमाडाैं, ४ जेठ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संविधानविपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक राष्ट्रियसभाबाट पारित नहुने स्पष्ट पारेका छन्।
शनिबार रिपोटर्स क्लवले आयोजना गरेको साक्षातकारमा बोल्दै उनले उक्त विद्येयक राष्ट्रिय सभामा नआएको स्पष्ट पारे। उनले भने, ‘यो विद्येयक राष्ट्रिय सभाको सम्पत्ति भएको छैन्। अहिले नै यसबारेमा यस्तो किसिमको चर्चा तथा परिचर्चा गर्न आवश्यक छैन्।’ विद्येयकमा कुनैपनि वाक्यमा प्रेसलाई कुण्ठित गर्ने, वञ्चित गर्ने र संकुचन गर्ने खालेको आयो भने हामी त्यसलाई पारित नै गर्दैनौं।’
संविधानको मुल्य र मान्यताअनुसारनै विद्येयक आउनुपर्ने उनको जोड थियो। तर, विद्येयक आउनु बेठिक नभएको उनले स्पष्ट पारे। प्रमुख प्रतिपक्षी दल र पत्रकारहरुले विद्येयकका बारेमा कुरा उठाउनु बेठिक नभएको पनि उनले तर्क गरे। उनले भने, ‘संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुति गरेको छ। त्यही भएर यसलाई ठूलो ईस्यु बनाउनुहुँदैन्।’
शर्माले मिडियापनि मर्यादित बन्नुपर्ने सुझाए । उनले भने,‘नेपाली समाजलाई समुुन्नत समाज निर्माण गर्न मिडियाको ठूलो भूमिका हुन्छ। सबै मिलेर अघि बढ्नुपर्छ।’ संविधान विपरितका कुनैपनि ऐन तथा कानूनहरु पारित नहुने उनले ठोकुवा गरे।
शिक्षा क्षेत्रमा ठूलो विकृति, अराजकता र भद्रगोलको अवस्था रहेकोले यसलाई सुधार गर्नु आजको आवश्यकत्ता रहेको पनि शर्माको भनाई छ। उनले भने, ‘विश्वविद्यालय ऐन आएको होईन, यो संशोधन गरिएको हो। शिक्षा ऐन आएको छैन्। शिक्षा क्षेत्रलाई अब व्यवस्थित गर्नुपर्छ।’
वर्तमान सरकार निरंकुशतातर्फ अग्रसर नहुने पनि उनले जिकिर गरे। उनले भने,‘यदि मुलुकमा साँच्चिकै विकासको बहसमा जान जरुरी छ भने शिक्षा र यातायातमा भएको अराजकतालाई व्यवस्थित गर्नुपर्छ।’ अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य र मान्यताबाट कोहीपनि विचलित हुन नहुने उनको धारणा छ।
मुलुकमा अहिले भ्रष्टाचार व्याप्त रहेको उनले सुनाए। भ्रष्टाचारीहरुलाई कारबाहीमा ल्याउनुपर्ने उनले माग गरे।उनले भने, ‘भू्रष्टाचारबारे अनुशन्धान हुनुपर्छ। सत्य तथ्य बाहिर लयाउनुपर्छ। सरकारले अब हिम्मत गर्नुपर्छ। यो सरकार अहिले लागिपरिरहेको छ।’ सरकारले भ्रष्टाचारबारे शुन्य सहनशिलता अपनाएको पनि उनले स्पष्ट पारे।
यस्तै नवगठित समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी संविधानले प्रत्याभुति गरेझैं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे। उनले भने,‘संविधानले नै प्रेसबारे राम्रो व्यवस्था गरेको छ। मौलिक हकका सम्बन्धमा पनि धेरै राम्रो संविधान छ।’ श्रेष्ठले आफ्नो पार्टीले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुराको विरोध गर्ने स्पष्ट पारे । उनले भने, ‘हामी प्रेसलाई कुण्ठित गर्ने कुराको विरोध गर्दछौं। हामी सच्याउँछौं।’
उनले एभिन्यूज टेलिभिजनका पत्रकारले आफ्नो पार्टीका अध्यक्ष एवम् नेपाल सरकारका उपप्रधानमन्त्रीजस्तो व्यक्तित्वलाई मर्यादाबाहिर गएर प्रश्न गरेको र पटक पटक तपाई जान सक्नुहुन्छ भनेको कुरा पत्रकारिताको धर्म विपरित भएको टिप्पणी गरे। उनले भने, ‘पत्रकारले मर्यादाभित्र बस्ने कुरालाई ध्यान दिनुपर्छ। मिडियामा कतिपय गलत समाचारहरु पनि सम्प्रेषण भैरहेका छन्।’
आफ्नो पार्टीको मुख्य नीति भनेको नै जनसंघर्ष नै भएको उनको भनाई छ। उनले भने,‘सरकारसँग गरेको २ बुँदे सम्झौता कार्यान्वयन हुँदैन भने संसदको यो अधिवेशनभित्र संविधान संशोधन प्रक्रिया अघि बढाईएन भने हामी सरकारबाट बाहिरिन्छौं। सरकार, सडक र सदनबाट संघर्ष अगाडि बढाउँछौं।’
उनले समुन्नत संघीय समाजवाद विचारधारा मान्ने जो कोही पार्टीसँगपनि एकता हुने तर नमान्नेसँग एकता नहुने स्पष्ट पारे। उनले भने,‘यदि राजपाले यो विचारधारा मान्छ भने एकता हुन्छ, होईन भने हुँदैन्।’
प्रतिनिधिसभाका सदस्य समेत रहेका नेता श्रेष्ठले नेताहरुले कस्तो संस्कृति बसाउने भन्नेतर्फ विशेष ध्यान दिनुपर्ने सुझाए। पछिल्लो समय नेताहरुबीच कसले कति किलोको माला लगाउने भन्ने गलत संस्कारको विकास भएकोमा उनले चिन्ता व्यक्त गरे। त्यस्तै, उनले सांसदहरुलाई माननीय पनि भनेर सम्बोधन गर्न नहुने धारणा राखे । उनले भने, ‘सांसदहरुलाई माननीय भन्ने ट्याग नै हटाउनुपर्छ।’
त्यस्तै, उनले जनताभन्दा माथि बस्ने कम्युनिष्ट हुनै नसक्नेपनि टिप्पणी गरे। उनले भने,‘कम्युनिष्ट हो भने त त्यहीअनुसारको आचरण हुनुपर्छ।’ उनले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेकोमा आक्रोश पोख्दै राष्ट्रपति भण्डारीलाई सामन्ती युगको महारानीजस्तो भएको संज्ञा दिए। उनले भने,‘संविधानको धारा (६९) को २ मा नेपाल सरकारबारे प्रष्ट लेखेको छ। ओली नेतृत्वको सरकार विद्यादेवी भण्डारीको सरकार हो ? होईन नि।’



लाेकपाटी न्यूज

