काठमाण्डौं, ४ जेठ। चिया किसानहरुले उचित बजार मूल्य नपाएको गुनासो गरेका छन्। इलामका चिया कृषकले चिया कारखानाले उचित मूल्य नदिएको गुनासो गरेका हुन्।
हरियो पत्ती टिपाइको तेस्रो लटसम्म पनि मुनाको उचित मूल्य नातोकिँदा र बजारमूल्य नै थाहाँ नपाउदा किसानहरु मारमा परेका छन्। चैत्र पहिलो सातादेखि ‘फस्ट फल्स’ टिपाई सुरु भएतापनि वैशाख तेस्रो सातासम्म पनि हरियो पत्तिको मूल्य निर्धारण नभएको उनीहरुको गुनासो छ।
इलाम नगरपालिका १ साँखेजुङका कृषक बिष्णु लुइँटेल बजार मूल्य थाहा नभएको कारण उचित मूल्य नपाएको उनको गुनासो गर्छन्। । उनले भने, ‘हामीले हरियो पत्ति टिपेर कारखानालाई दिएपनि प्रति केजी कति रुपैँया छ ? थाहाँ हुँदैन, पहिलो लटको पत्ति धेरै राम्रो हुने भएकाले राम्रो मूल्यको आशा राखिन्छ। पछि पाउने बेलामा सोचे भन्दा कम मूल्य पाईन्छ। बजार मूल्य र कारखानाले पहिले मूल्य तोके किसानलाई राहत मिल्ने थियो।’
सुर्योदय नगरपालिकाका कृषक भने पहिलेको भन्दा चिया उत्पादन कम भएको बताउँछन्। फिक्कल आरुबोटेका कृषक कृष्ण बुढाथोकी भन्छन्, ‘प्रांगारिक बनाउने होड बाजी चलिरहेको अवस्था छ। युरिया,पोटास जस्ता मल प्रयोग गर्न छोडेकाले चिया उत्पादन घटेको छ। उत्पादन अनुसारको मूल्य नपाउदा मार्कामा परिएको छ। कारखानाले सुरुमै मूल्य तोक्दिएको भए अलि उर्जा मिल्ने थियो।’
चिया कारखाना संचालकको भने आफ्नै समस्या रहेको छ। कारखानाको क्षमताभन्दा धेरै कम तयारी चिया उत्पादन हुँदै आएको हिमालय सांग्रीला टि स्ट्रेटका संचालक कमल मैनालीको भनाई छ। उनका अनुसार १ करोड ३० लाख केजी तयारी चिया उत्पादन हुने कारखाना भएपनि ५० लाख केजी भन्दाबढी उत्पादन हुन सकेको छैन।उत्पादन भएको तयारी चियाको पनि कर तिर्न पर्ने भएकोले कारखाना घाटामा जाने गरेको मैनालीको भनाई छ।
बजार व्यवस्थापन राम्रो नभएकाले तयारी चिया निकासी गर्न समस्या भएको उनले बताए। तयारी चिया नेपालमै खपत गर्न पाए राम्रो हुने कृष्ण गोपाल चिया उद्योगका संचालक गोपाल कट्टेलको बुझाई छ। उनी भन्छन्, ‘सरकारले उचित व्यवस्थापन गरिदिए किसान र उद्योगी सबैलाई फाइदा हुने थियो। आर्गानिक चिया बनाउदा लाग्ने लागत, उचित मूल्य,सहि बजार व्यवस्थापन भइदिने हो भने चिया उद्योग फस्टाउने थियो।’
नेपालमा बजार नभएकाले नाका कटाउँदा ७/८ ठाँउमा कर तिर्नु पर्दा मार्कामा परेको उद्योगीहरुको भनाइ छ।साँखेजुङका केही कारखानाले भने सुरुमै मूल्य तोकेका छन् भने प्रयाप्त हरियो मुना संकलन भईरहेको छ।’ फस्ट फ्लस’को सुरुमै पानी परेकोले राम्रो मुना पलाएको र फस्ट फ्लस टिपाई सकिएपछि केहि उत्पादन घट्न सक्ने व्यवसायी टंक दाहालले बताए।
अघिल्लो वर्षको तुलनामा २५५ ले हरियो पत्तिको उत्पादन घटेको छ। आर्गानिक चिया खेतितर्फ किसानहरु लागेपछि उत्पादनमा गिरावट आएको हो। निरन्तर परेको असिना पानीले जमिन नतातेको र राम्ररी मुना पलाउन नसकेको केन्द्रिय चिया सहकारी संस्थाका अधक्ष्य गोबिन्द दाहालले बताए।
सरकारले चिया किसान र उद्योगीका लागि कुनै अनुदान, बजार व्यवस्थापन नगरिदिएको कारण किसान र उद्योगीलाई नै सास्ती परेको उनको भनाइ छ। अघिल्लो वर्ष आर्गानिक हरियो पत्तीको मूल्य प्रतिकेजी ६६ रुपैयाँ थियो भने यसपाली प्रतिकेजी २ रुपैयाँ बढाएपनि किसानका लागि उचित मूल्य नभएको दाहाल बताउँछन्।
न्युनतम ६५ लाख केजी तयारी चिया उत्पादन हुनु पर्नेमा ५० लाख केजी मात्र उत्पादन हुदै आएको छ। उत्पादित चियाले सहि बजार नपाउदा व्यवसायी मार्कामा परेका छन्। आर्गानिक बनाउन बर्षेनी ५ देखि ६ लाख सम्म लाग्ने भएकाले नगरपालिका, विभिन्न संघ संस्थाले अनुदान,ऋण,मल जन्य बस्तु उपलब्ध नगराए चियाखेति नफस्टाउने दाहालले बताए।
सबै किसानका चिया बगानलाई आर्गानिक बनाउन गाह्रो भएकाले चियाखेतिमा एकरुपता आउन सकेको छैन। नेपाल अर्गानिक एग्रीकल्चर कन्सल्टेन्सी’ चलाउदै आएका आर।सी नेपालका अनुसार अर्गानिक बनाउन ५/६ लाख रुपैया लाग्ने भएकाले प्रत्येक किसानले लाभ लिन सकेका छैनन्।प्रांगारिक बनाई सकेपछि सोहि अनुसारको उत्पादन हुन २\४ वर्ष लाग्ने भएकाले उत्पादन घटेको छ ।
नेपालले आन्तरिक निरिक्षण,व्यवस्थापन तालिम जस्ता काम गदै आएका छन्। सरकारले केहि सहयोग नगरेकाले व्यवसायीले दिएको शूल्कबाट कन्सल्टेन्सी चलाइरहेका छन्। सरकारले उचित व्यवस्थापन नगरे चिया उद्योग बन्द हुने अवस्थामा नपुग्ला भन्न सकिन्न।



लाेकपाटी न्यूज

