काठमाडौं। डा. विष्णुमाया परियार सामाजिक एवं पारिवारिक हिंसाविरुद्धको अभियानकी अभियान्ता हुन्। सामाजिक सेवाको क्षेत्रमा लामो समय काम गरेपछि उनी विभिन्न पुरस्कारबाट पुरस्कृत पनि भएकी छिन्।
अहिले उनी अमेरिकामा रहेर समाजसेवामा क्रियाशील छिन्। गोर्खामा जन्मिएकी विष्णुमायाको बाल्यकाल आमा बुवाको राम्रो रेखदेख र ममतामा बित्यो। उनका बुवा कपडा सिउँथे, विष्टकहाँ पनि जाने गर्थे। धेरै दुःख गरेर पनि उनका बुवाले सन्तानलाई राम्रो शिक्षादिक्षा दिए ।
पारिवारिक पेशा विष्णुमायालाई मन परेन। किनभने दिनभर काम गर्दा पनि राम्रो आय भएको उनले देखिनन्। जसका कारण उनलाई परम्परागत पेशा मन परेन। दलित भएका कारण अरु उपल्लो जात भनिनेहरुले विभेद गर्थे। सामाजिक उत्पीडनबाट उनको परिवार पनि प्रताडित थियो।
घरमा पस्न दिँदैनथे। विष्णुका आमाबुबाबाट १० छोरी एक छोरा जन्मे। जन्मेका मध्ये तीन जना बिते। उनी पाँचौ नम्बरकी हुन्। छोरा पर्खिदा पर्खिदै धेरै छोरी जन्मिन्छन्। विष्णुका बुवाआमाले भने छोरा पर्खेका कारण धेरै छोरी नजन्माएको उनले बताइन्।
उनका बुवाले छोरा जन्माउनका लागि अर्की श्रीमती ल्याउन अरुले सुझाव दिए। तर, उनले मानेनन्। परिवार नियोजनको सुविधा पनि थिएन। विष्णुमायाका एकमात्र भाइ र एक दिदी अमेरिकामा छन्। अरु परिवार नेपालमै छन्। उनले कक्षा सातसम्म ताक्लुङमा पढिन्। मनकामना मन्दिर मुन्तिरको हाइस्कुलमा उनले माध्यमिक शिक्षा प्राप्त गरिन्। त्यो स्कुल जाने चार साथी थिए उनका। दुई मगर एक नेवार कन्या र एक उनी स्वयं। बाटोमा कुँवरहरुको घर पथ्र्यो। तिर्खा लाग्दा कुँवरको घरमा पानी पिउँथे।
मगर र नेवारले गिलास हातले समाएर पानी पिउँन पाउँथे। तर, विष्णुमायाले हात तल थापेर पानी पिउनु पर्ने हुन्थ्यो। त्यो विभेद उनलाई मन पर्दैन थियो। जसका कारण उनले कहिले पनि कुँवरको घरको पानी पिइनन्। उनमा सानैदेखि सामाजिक चेतना थियो। उनका बुवाले पढेर ज्ञानी भएर सामाजिक विभेदविरुद्ध लड्न प्रेरित गर्थे।
विष्णुको पढाइ त्यही बेलादेखि नै राम्रो थियो। पढाइमा निरन्तर समर्पित भइरहिन्। अरुले तिरष्कार गरे पनि उनलाई फरक परेन। लक्ष्य भने लिनुपर्ने उनको सुझाव छ। उनलाई दमिनी भनेर साथीहरुले नै भने। तर, उनी विचलित भइनन्। गोर्खामा अमेरिकी सहायतामा चल्ने कार्यक्रम रहेछ स्कुलमा। त्यही निकायले विष्णुलाई अवसर दियो। पढाइमा तेज उनले त्यो अवसर प्राप्त गरिन्। ४८ सालमा एसएलसी पास गरेपछि उनको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्यो।
तर, काठमाडौंको शिक्षा उनलाई सजिलो भएन। भर्ना शुल्क मामाहरुले तिरिदिए। पढाई खर्च जुटाउन उनले गार्मेन्टमा काम गर्नेहरुका लागि खाना पकाउने, भाँडा माझ्ने गरिन्। रेष्टुरेन्टमा पनि काम गरिन्। तर, उनी आफ्नो लक्ष्यबाट कहिले पनि विमुख भइनन्।
आइए पास गरेपछि एक एनजिओमा काम गरिन्। तर, एनजिओले भनेजस्तो काम नगरेपछि उनले काम छोडिन्। अमेरिकी पिसकोरसँग फेरि जोडिइन्। उनले १९९८ मा आफ्नै एनजिओ खोलिन्। उनी १९९९ मा अमेरिका गइन्। २०१५ मा उनले प्रदीप मगरसँग विवाह गरिन्। उनको लभ म्यारिज हो। प्रदीपसँग अमेरिकामै विष्णुको भेट भएको थियो। जातीय विभेदविरुद्ध काम गर्ने प्रदीपसँग उनको राम्रो केमेस्ट्री मिलेको छ।



लाेकपाटी न्यूज

