काठमाडौं, ३ जेठ । जातीय विभेद तथा छुवाछुतको व्यवहारिक अन्त्यका लागि चैत ३ गतेबाट सुरु भएको महाकाली–मेची पदयात्रा ५४ दिनको पैदलयात्रापछि मेचीको काँकडभिट्टामा पुगेर पहिलो चरणको अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पैदलयात्रामा सहभागीहरु होमराज आचार्य, अशोक दर्नाल र रिता परियारले यस्तो जानकारी गराएका हुन् । देशका प्रत्येक कुना–कुनाबाट छुवाछुत सदाका लागि अन्त्य गर्न व्यक्ति र छिमेकीहरुलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयात्रा गरिएको उनीहरुको दाबी छ ।
आफूहरुले १ लाख १७ हजार आम जनसमुदायसँग प्रत्यक्ष संवाद, अन्तरक्रिया र छलफल गर्दै विभेदको अहिलेको अवस्था परिर्वतनका बाधक तत्वहरु र समधानका उपायहरुबारे स्थानीय तहबाट खोजी गर्नुको साथै कानून कार्यान्वयनमा देखिएका कमिकमजोरीलाई औंल्याउँदै सचेतीकरणको काम समेत कुशलतापूर्वक सम्पन्न गरेको उनीहरुले विश्वास दिलाए ।
पदयात्री अशोक दर्नालले आफूहरुले ५४ दिनको लामो महाकाली–मेची पदयात्रामा १३२८ किलोमिटरको यात्रा तय गरेको सुनाए । उनले आफूहरु फरक–फरक क्षेत्रका तीन जनाले यो यात्रा सम्पन्न गरेको सुनाए ।
त्यस्तै कार्यक्रममा उनीहरुद्वारा जारी गरिएको विज्ञप्ति पदयात्री हेमराज आचार्यले वाचन गरेका थिए । अर्की पदयात्री रिता परियारले आफूहरुले यात्राको क्रममा दलितहरुले भोग्नु परेको विभिन्न पीडाहरु थाहा पाएको सुनाइन् । उनले भनिन्, ‘छुवाछुतसम्बन्धि नीति तथा नियमहरु किताबमा मात्रै सिमित भएको पाएका छौं।’ उनले बनेका नीति तथा नियमहरु व्यवहारमा लागु हुनुपर्ने माग गरिन् ।
आगामी ६ महिनाभित्र जातीय विभेद र छुवाछूतको अन्त्यका लागि सामाजिक रुपान्तरणमा लाग्ने ७ सय ५३ स्थानीय निकायकाहरुबाट ५१ सदस्यीय परिर्वतनका लागि संवाहकहरु नाम दिएर राष्ट्रिय संञ्जाल निर्माण गरिने पनि उनीहरुले जनाए ।
उनीहरुद्वारा जारी विज्ञप्तिमा थप भनिएको छ, ‘जातीय विभेद र छुवाछूतको अन्त्यका लागि चालिएको नेपाल पदयात्राले २०१९ भित्रमा दलित समुदायका पक्षमा जारी भएको कानूनहरुलाई व्यवहारिक कार्यान्वयन गराउनेका निम्ति सार्कस्तरीय नीति संवाद गरी केन्द्रीय सरकार र स्थानीय सरकारलाई समेत प्रतिवेदन पेश गरी दवाब सिर्जना गर्नेछौं ।’



लाेकपाटी न्यूज
