समलिङ्गी विवाहलाई संसदले दियो कानूनी मान्यता

samalingi
लाेकपाटी न्यूज

ताइवान । एशियामा नै पहिलो पटक समलिङ्गी विवाहलाई ताइवानको संसदले कानूनी मान्यता दिएको छ ।

समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने विषयमा संसदमा तीन विधेयकहरु प्रस्ताव गरिएकोमा सबैभन्दा प्रगतिशील विधेयकलाई ६६ का विरुद्ध २७ मतबाट पारित गरिएको बताइएको छ । यसअनुसार समलिङ्गीले विवाहपछि अर्कैले जन्म दिएका छोराछोरी पाल्न समेत सक्नेछन् ।

यो विधेयकलाई राष्ट्रपति साई इन वेङले हस्ताक्षार गरेपछि औपचारिक रुपमा कानून लागू हुनेछ ।

यसअघि सन् २०१७ मा त्यहाँको सर्वोच्च अदालतले समलिङ्गीलाई पनि विवाह गर्ने अधिकार रहेको भन्दै सरकारलाई समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने गरी व्यवस्था गर्न आदेश दिएको थियो । उक्त आदेशको म्याद मे २४ मा सकिनु अगावै ताइवानले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएको हो ।

संसदले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएपछि ठूलो सङ्ख्यामा समलिङ्गी तथा समलिङ्गी अधिकारकर्मी संसद भवन अगाडि भेला भएर खुशीयाली मनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।