काठमाडौं, ०३ जेठ । मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट ११ जना नर्स पक्राउ परेका छन् । वैशाख ११ गतेदेखि विभिन्न मागसहित आन्दोलनरत नर्सहरु आज उपचार केन्द्रबाटै पक्राउ परेका हुन्।
लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी वृतमा र अन्यलाई भक्तपुर प्रहरी प्रभागमा राखिएको छ ।
प्रत्यारोपण केन्द्रका नर्सहरुले समयमै तलब दिनुपर्ने ,ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने, सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनुपर्ने, पुरानो कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा ग्रेडिङ गरिनुपर्ने र पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका हुन्।
यस्तै नर्सहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै गएको शुक्रबारदेखि सिनियर नर्स जीता बराल र अस्पतालमा कार्यरत नर्स डिकी शेर्पाले आमरण अनशन समेत सुरु गरेका थिए ।
अनशन सुरु गरेको आज एक साता बितिसक्दा पनि नर्सहरुको माग सम्बोधनको लागि सम्बन्धित निकायले चासो दिएको छैन । हाल दुवै अनशनरत नर्सहरुको मुटुको चाल गढबडी, रक्तचाप कमि, श्वासप्रश्वासमा समस्या र संक्रमणको जोखिम उच्च रहेको चिकित्सकहरुले जनाएका छन् ।



लाेकपाटी न्यूज

