काठमाडौं, ०२ जेठ । बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले जनवर्गीय संगठनको भागबण्डा टुङ्ग्याएको छ । बैठकले नेकपामा २२ जनवर्गीय संगठन मध्ये धेरैजसोको भागबन्डा टुंग्याएको हो ।
अनेरास्ववियूको संयोजकमा पूर्व एमालेबाट ऐन महर, सहसंयोजकमा पूर्व माओवादीबाट रञ्जित तामाङ वा सुरेन्द्र बस्नेत (तामाङले नमानेमा), युवाको संयोजकमा पूर्व माओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा र सहसंयोजकमा पूर्व एमालेबाट रमेश पौडेल वा किरण (रमेशले नमानेमा), महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापा मगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेलको टुंगो लागेको छ ।
यसबाहेक प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । दाहाल तत्कालीन माओवादी र बस्नेत तत्कालीन माओवादी निकट संगठन मिडिया संगठनका नेता हुन् । त्यसैगरी बुद्धिजीविमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सहसंयोजक रहने सहमति भएकाे छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका महासचिव हुन् ।
त्यस्तै मजदुरमा विनोद श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ । श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् ।
नेकपामा किसान महासंघ, कर्मचारी संगठन, खेलकूद संगठन, सुकुम्बासी संगठन, उद्योग व्यवसायी संगठन, भूतपूर्व सैनिक संगठन, जनजाति महासंघ, जनसांस्कृतिक महासंघ, दलित संगठन, उद्योग व्यवसायी संगठन, मुस्लिम संगठन र मधेसी संगठनको पनि नेतृत्व टुंगाउने गरी छलफल भएको छ ।
जनवर्गीय संगठनका सबै नाम टुंगाएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।
बैठकले पोलिटव्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन भने टुङ्ग्याउन सकेन । जेठ ५ गते अर्को बैठक बसेर यी काम सक्ने नेकपाको तयारी छ । ‘मिडियामा पोलिटब्यूरोको नाम भनेर पहिला नै बाहिर आयो, त्यो अपुरो थियो ।
एकताकाे अन्तिम रुप अब ५ गते बस्ने बैठकले दिन्छ । त्यसै गरी केन्द्रीय सदस्यका कार्य विभाजनको विषयमा पनि त्यसै दिन निर्णय हुन्छ ।’ सचिवालयका एक सदस्यले भने ।



लाेकपाटी न्यूज

