विभिन्न अभियोगमा ६९ पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, ०२ जेठ । वल्र्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ५ घर भई हाल काठमाडौं महानगरपालिका ठमेल बस्ने १८ वर्षीय सुशान्त ओझा भन्ने निरज कुईंकेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उनले कम्पनीको मोबाइल र परिचयपत्रको दुरुपयोग गरी काठमाडौंका विभिन्न स्थानमा गई ईन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाईन काट्ने लगायतका कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।

ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको रिटेल्स सेल्स एसिसटेन्टमा कार्यरत रहेका कुईंकेलले २०७५ माघबाट कम्पनीमा काम गर्न छोडेको र त्यसपछि १५ जनाभन्दा बढी पुराना सेवाग्राहीहरु र नयाँ ग्राहक समेत बनाई अबैध रुपमा ६५ हजार रुपैयाँ भन्दा बढी रकम असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो महाशाखाले जनाएको छ । कुईकेललाई ठगी मुद्धा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेका जापानीज नागरिक राहदानी नम्बर टिएस ३०७७९३६ वाहक ५६ वर्षीय मिको ताकेनाकालाई करिब ९० ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तुसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा उनलाई उक्त वस्तुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि अन्तर्राष्ट्रिय विमनस्थल सुरक्षा कार्यालयस्थित लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

त्यस्तै मकवानपुरको राक्सिराङ गाउँपालिका १ गाल्साङबाट अवैध लागूऔषध गाँजा करिब ४५ केजी सहित सोही गाउँपालिका ३ सरीखेत बस्ने ३८ वर्षीय राज कुमार गोले र ३४ वर्षीय सोमबहादुर सिङतानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले गाल्साङबाट सरिखेततर्फ जाँदै गरेको ना १ ज ७३७९ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी चालक गोले र गाडीमा सवार सिङतानलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै पर्साको जिराभवानी गाउँपालिका १ स्थित ओरिया खोलाको किनारबाट अवैध लागूऔषध गाँजा करिब ७ केजी सहित भारत विहार बस्ने शुखराम महतो नुनियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेवपट्टी पर्साबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर २२ एम २३७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार नुनियालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने संगम लामाको घरबाट करिब ६१ केजी अवैध लागूऔषध गाँजा बुधबार साँझ प्रहरीले बरामद गरेको छ । उनको घरमा लागूऔषध गाँजा राखेको भन्ने सूचनाको आधारमा संघीय प्रहरी ईकाई कार्यालय जनकपुर तथा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट संयुक्त रुपमा खटिएको प्रहरीले घर तालासी गर्दा उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएको हो । फरार रहेका संगम लामाको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सर्लाही लालबन्दी नगरपालिका ९ स्थित रोकी राखेको बिआर ३० पि १४५८ नम्बरको गाडीबाट करिब १ सय ५० केजी लागूऔषध गाँजा फेला पारी बुधबार राति प्रहरीले बरामद गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त गाडी र लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो । घटनामा शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका ४ सुर्जिगाउँ डेरा गरी बस्ने रोल्पा थवाङ घर बताउने २३ वर्षीया रेखा पुनको कोठाबाट अवैध लागूऔषध चरेस ४ किलो ७ सय ५० ग्राम बुधबार साँझ प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले पुनको कोठा तलासी गर्दा उक्त लागूऔषध बरामद भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका २ निल सरस्वतीस्थित भेकल ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट घर भएका २४ वर्षीय हरिबोल सरौला समेत ३ जनालाई १ बुक तास र नगद ८ हजार ३ सय २० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका १६ माछापोखरी वाइपासस्थित विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई बुधबार साँझ प्रहरीले प्रकाउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये अनुसन्धान पश्चात १५ पुरुष र ६ महिला गरी २१ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अन्य ४० जनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्