काठमाडौं, ०२ जेठ । सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धि विधेयक लगायत पत्रकार एवम् सर्वसाधारण नागरिकहरुको गैरन्यायिक गिरफ्तारी र धरपकड बढ्दै गएको भन्दै जनपत्रकार संगठनसहितका ५ पत्रकार संगठनहरुद्वारा राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षण एवम् जानकारी गराएका छन् ।
बुधबार दिउँसो आयोगको केन्द्रीय कार्यलय पुगी आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती लगायतका आयोगका पदाधिकारीलाई भेटि पत्रकार संगठनका पदाधिकारीहरुले ध्यानाकर्षण गराएका हुन् । जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र रावत, जनपत्रकार संगठनका महासचिव हिम विष्ट, प्रेस सोसाइटी र मधेशी पत्रकार समाजका पदाधिकारीहरु आयोग पुगेका थिए । देशभरका पत्रकारहरुले प्रेस विरोधी विधेयक तत्काल खारेज नगरे अन्तर्रा्ष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिइरहेका बेला संगठनका पदाधिकारीहरु आयोग पुगी गम्भिर हुन अनुरोध गरेका छन् ।
भेटघाटमा आयोगका कार्यवाहक अध्यक्ष वस्तीले अहिले संसदमा प्रस्तुत गरिएको विधेयक पारित भए नेपाली प्रेसको स्वतन्त्रता संकटमा पर्ने भन्दैमा आफूहरु त्यस बारेमा गम्भिर रहेको बताए। उनले भने, ‘यो विधेयक संसदबाट पास भएर कानून बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन् । उनले नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकोले यसको लोकतान्त्रिक व्यवस्था माथि प्रश्न उठ्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले समेत चिन्ता व्यक्त गर्ने बताए ।
कार्यवाहक अध्यक्ष वस्तीले भेटमा गैरन्यायिक गिरफ्तारीप्रति आयोग गम्भिर बनेको बताए । छलफलमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता साथै पत्रकार गिरफ्तारीप्रति सबै एकजुट भएर लाग्नुपर्ने बताइन्।



लाेकपाटी न्यूज
