काठमाडौं, २ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार साँझ स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भ्रमणबारे सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण अत्यन्त सफल भएको बताएका छन्।
उनले भ्रमणका क्रममा दुई पक्षीय सम्बन्धका सारभूत पक्षहरूमा छलफल भएको चर्चा गर्दै लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय सद्भाव र सहयोग जुटाउन भ्रमणले महत्वपूर्ण अवसर प्रदान गरेको बताए। उनले दुवै देशका प्रधामन्त्रीले लुम्बिनीको भ्रमण गर्ने इच्छा समेत व्यक्त गर्नुभएको जानकारी दिए।
उनले भियतनाम नेपालबीच परम्परागत रुपमा रही आएको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा सहमति भएको बताए। भ्रमणका उपलब्धिको चर्चा गर्दै उनले कूटनीतिक राहदानी, सरकारी राहदानी वाहकलाई भिसा छुट गर्ने, परराष्ट्र मन्त्रालयहरुबीच दुई पक्षीय संयन्त्र स्थापना गर्ने र नेपाल तथा भियतनामबीच लगानी तथा व्यापार सम्झौता गर्नेसम्बन्धी आशयपत्र आदानप्रदान गर्ने जस्ता सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए।
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासा सम्बोधन गर्दै आपूmले मर्यादित संसद्मा गैरसंसदीय शब्द प्रयोग नगरेको पनि स्पष्ट पारे। उनले भने, ‘संसद्मा केही उत्ताउला, अमर्यादित, असंसदीय शब्दहरु प्रयोग भएका हुन्, ती डिलिट गरिएका हुन्। सभामुखले त्यसैलाई सङ्केत गर्नुभएको हो। संसद् मर्यादित थलो हो । मर्यादा राख्नुपर्छ।’
उनले जनताबाट निर्वाचित राज्यका सर्वोच्च निकायमाथि नियोजित रुपमा अपमान गर्ने प्रवृत्ति बढिरहेको बताए।उनले भने, ‘सामन्ती संस्थाहुँदा त्यसको मर्यादा राख्नुपर्छ त्यसकाविरुद्ध बोल्नुहुन्न भन्नेहरु अहिले जनताबाट निर्वाचित लोकतन्त्रका आधारभूत संस्थाहरू, जननिर्वाचित मर्यादित राज्यका सर्वोच्च निकायमाथि अपमान गर्नु आफ्नो बहादुरी ठान्ने प्रवृत्ति देखापरेको छ।’
ओलीले नेपाली समाज अब आधुनिक, विकसित, सभ्य समाजको रुपमा विकसित हुन गइरहेको बताए। संसद्मा प्रस्तुत विधेयकमाथि छलफल र आवश्यकताअनुसार परिमार्जन गर्न सकिने अवस्थामा आवेशमा च्यातेर संसदीय गरिमा घटाएको उनको भनाइ थियो। उनले सरकारले हचुवाको भरमा विधेयक नल्याएको समेत स्पष्ट पारे।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहनु भएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, पूर्वसभामुख सुवास नेम्वाङले स्वागत गरेका थिए।
नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा।राजन भट्टराईलगायत उच्चपदस्थ कर्मचारी, उद्यमी, व्यवसायी, पत्रकारको सहभागिता थियो।



लाेकपाटी न्यूज

