गौतम बुद्ध विमानस्थलको कार्य पुनः सुचारु

Gautam Buddha International Airport
लाेकपाटी न्यूज

काठमाडौं, २ जेठ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य बुधबारदेखि पुनः सुचारु भएको छ। ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा रोकिएको राष्ट्रिय गौरवको आयोजना बुधबारदेखि सुचारु भएको हो।

पछि शोधभर्नाबाट मिलाउने गरी सरकारले बजेट दिएपछि विमानस्थल निर्माण आयोजनाले बुधबार नै ठेकेदार कम्पनीलाई दस करोड रुपियाँ भुक्तानी दिइसकेको जनाएको छ। रकम पाएपछि निर्माण कम्पनी रोकिएको विमानस्थलको काम सुचारु गर्न तयार भएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।

तीन, चार दिनदेखि रोकिएको विमानस्थलको काम बुधबारदेखि नै सुचारु भएको छ, बिहीबार बिहानदेखि रन वे कालोपत्रेको बाँकी काम पनि सुरु हुन्छ, उनले भने, “शोधभर्नाबाट हिसाब मिलान गर्ने गरी प्राप्त भएको दस करोड रुपियाँ हामीले निर्माण कम्पनीलाई भुक्तान गरिसकेका छौँ।” सरकारी ढिलाइले ठेकेदारलाई उपलब्ध गराउनुपर्ने खर्चको भुक्तानी हुन नसक्दा आइतबारदेखि विमानस्थल निर्माणको काम रोकिएको थियो।

आयोजना प्रमुख अधिकारीले अन्तिम चरणमा पुगेको धावनमार्गको पिच कार्य अब छिट्टै नै सकिने जानकारी दिए। उनका अनुसार धावनमार्गको तीन तहको पिच निर्माण सकिएको छ। अन्तिम चरणको पिच पनि दुई हजार ५०० मिटर भइसकेको छ। धावनमार्ग तीन हजार मिटर लामो छ। पिच गर्ने उपकरणमा इन्धन भर्नका लागि आवश्यक खर्च ठेकेदारले जुटाउन नसक्दा काम रोकिएको थियो। (गोरखापत्रबाट)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्