काठमाडौं, ०१ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको माननीय मन्त्रीज्यूको अध्यक्षतामा गठित प्राङगारिक कृषि प्रवद्र्धनका लागि उच्च स्तरीय कार्यदलले बैशाख ३१ र जेठ १ गते अन्तर्राष्ट्रिय प्राङगारिक कृषि सम्मेलनको आयोजना सम्पन्न गरेको छ । उक्त कार्यदलले प्राङगारिक कृषि प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अनुभव र प्रयासहरुको बारेमा जानकारी लिन यो कार्यक्रम आयोजना गरेको हो ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सम्मेलनको उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा मन्तव्य राख्दै प्रचण्डले प्राङगारिक कृषि अबको कृषि विकासको एक मात्र बाटो भएकोले कसरी त्यसतर्फ नेपाली कृषिलाई लैजान सकिन्छ सोको खाका बनाउन कार्यदललाई उक्त सम्मेलनले सघाउ पुर्याउने बताएका थिए।
त्यस्तै सांसद प्रदीप गिरीले समाजवादको कार्यान्वयनको उत्कृष्ट मोडेल दिगो कृषिको सुत्रधार प्राङगारिक कृषि प्रवद्र्धनको विकल्प समेत नभएको कुरा बताएका थिए।
यस सम्मेलनमा क्युवा, भुटान र भारतका प्राङगारिक कृषिसंग सम्बन्धित बिशेषज्ञहरु, अभियन्ताहरु र बैज्ञानिकहरुले आ आफ्ना देशमा प्राङगारिक कृषि प्रवद्र्धनका लागि भएका प्रयासहरुका बारेमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए । यसै क्रममा नेपाली कृषकहरुले पनि प्राङगारिक कृषिसँग सम्बन्धित आफ्ना अनुभवहरु आदान प्रदान गरेका थिए ।
कार्यक्रममा नेपालका संघीय कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका मन्त्री र राज्य मन्त्री, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरु, संघीय तथा प्रदेश सांसदहरु, कृषि क्षेत्रका उच्च पदस्थ सरकारी कर्मचारीहरु, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरु, स्थानीय तहका प्रमूखहरु, प्राङगारिक कृषिका अभियन्ताहरु, किसान सघसंगठनहरु, गैर सरकारी क्षेत्रका प्रतिनिधिहरु, कृषि ब्यवसायीहरु लगायतका विभिन्न क्षेत्रको सहभागिता रहेको थियो ।
सम्मेलनले हाम्रो जस्तो देशको अबको कृषि विकासको बाटो भनेको प्राङगारिक कृषि नै भएकोले यसतर्फ राज्यले प्राथमिकताका साथ दीर्घकालीन नीति, कार्यक्रम बनाई अघि बढ्नुपर्ने, रासायनिक मल र बिषादीको विकल्पका प्रविधिहरुको विकास र विस्तार गरी कृत्रिम रसायन, रसायनमा आधारित विषादी, हर्मोन र नसड्ने प्लाष्टिक विस्थापित गर्नुपर्ने, सबै तहको शैक्षिक पाठ्यक्रममा प्रकृति, खेतीपाती र पोषिलो खाना समावेश गर्नुपर्ने, आम नागरिकको जागरणका कामहरु गर्नुपर्ने, प्राङगारिक कृषि प्रवद्र्धनका लागि तिनै तहका सरकारहरुमा छुट्टै संस्थागत संरचनाहरु आवश्यक पर्ने, रसायन प्रयोग नै नभएका क्षेत्रहरुको पहिचान गरी प्राङगारिक क्षेत्र बिस्तार गर्नुपर्ने लगायतका विषयहरुमा सुझावहरु दिएको छ ।
प्राङगारिक कृषि प्रवद्र्धनका लागि उच्चस्तरीय कार्यदलले यसअघि राजधानी, सबै प्रदेश सरकार र केही स्थानीय तहहरुमा समेत परामर्श र अन्तरक्रिया कार्यक्रम गरी सुझावहरु संकलन गरेको छ । यस सम्मेलनमा विशेषतः प्रांगारिक कृषिमा अगुवाई गरिरहेका देशका विषय विज्ञहरु र नेपालका सरोकारवालाहरु बिचको बृहत् परामर्शबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको छ ।



लाेकपाटी न्यूज

