एजेन्सी । सामसुङले एउटा विशेष खालको टिभी ल्याएको छ । यो परम्परागत टेलिभिजनजस्तै तेर्सो नभई ठाडो हुन्छ । अर्थात् डिजाइनमा यो टेलिभिजन मोबाइलजस्तै हुन्छ ।
सामसुङको यो टेलिभिजनको नाम सेरो हो । यो टेलिभिजनमा मोबाइलको जस्तै कन्टेन्ट देख्न सकिन्छ । कम्पनीका अनुसार आजका युवा पुस्ता मोबाइलको भर्टिकल स्क्रिनमा हेर्छन् । उनीहरुको यही बानी हेरेर नै सेरो ल्याइएको हो ।
सामसुङका अनुसार यो टेलिभिजनले मोबाइलको जस्तै अनुभूति दिन्छ । उनीहरु आफ्नो स्मार्टफोनलाई टिभीसँग जोडेर गेम खेल्न सक्छन् र ठूलो स्क्रिनमा भिडियो हेर्न र सोसल मिडियासम्म पहुँच पुर्याउन सक्छन् । सामसुङको यो टेलिभिजनमा ४३ इन्चको स्क्रिन दिइएको छ । यो टिभी घुमाउन पनि सकिन्छ । यदि कसैले यसलाई ठाडो नभई तेर्सो गरेर हेर्न चाहन्छन् भने त्यो सेवा पनि उपलब्ध छ ।
साउन्डको कुरा गर्ने हो भने टेलिभिजनमा ४.१ च्यानल, ६० वाटको हाई एण्ड स्पिकर दिइएको छ जसको मद्दतले तपाईं सामसुङ म्यूजिकसहित स्मार्टफोनमा राखिएका गीत पनि बजाउन सक्नुहुन्छ ।
यो टेलिभिजनलाई सामसुङको भर्चुअल असिस्टेन्ट बिक्सबाईबाट नियन्त्रण गर्न सकिन्छ । सामसुङको यो भर्टिकल टेलिभिजन सेरोको मूल्य करिब १२,५०० पाउन्ड अर्थात् १८ लाख बढी छ । यो टेलिभिजन अर्को महिना दक्षिण कोरियामा बिक्रीका लागि उपलब्ध हुनेछ ।



लाेकपाटी न्यूज

