एजेन्सी। ट्वीटरले गत वर्षको जुलाईदेखि डिसेम्बर सम्ममा १ लाख ६० हजार भन्दा धेरै ट्वीटर अकाउन्ट बन्द गरेको छ। माइक्रो ब्लगिङ साइट ट्वीटरले शून्य सहनशीलता नीति लागू गरेसँगै ५ महिनाको अवधिमा १ लाख ६६ हजार ५ सय १३ अकाउन्ट बन्द गरेको हो।
ती ट्वीटर अकाउन्टहरुले आतंकवादलाई बढावा दिएको र आतंकवादी संगठनहरुद्वारा आफ्ना गतिविधिको प्रचारका लागि प्रयोग गरिएको पाइएपछि ट्वीटरले यस्तो कदम उठाएको हो। आतंकवादप्रति ट्वीटरको शून्य सहनशीला नीति लागू भएसँगै आतंकवादी संगठनहरुले यो प्लाटफर्मको प्रयोग गर्ने दरमा तिव्र गतिमा कमी आएको दाबी ट्वीटरको रहेको छ।
ट्वीटरको कानूनी, नीतिगत तथा सुरक्षा विभागका अधिकारीका अनुसार यो वर्ष सन् २०१८ को पहिलो ६ महिनाको तुलनामा पछिल्लो ६ महिनामा आतंकवादसँग सम्बन्धित ट्वीटमा १९ प्रतिशतले कमी आएको छ। अधिकारीका अनुसार निलम्बन गरिएका अकाउन्ट मध्ये ९१ प्रतिशत अकाउन्टका सामाग्रीहरु आपत्तिजनक रहेको तथ्य ट्वीटरको आन्तरिक प्राविधिक टूल्सले पत्ता लगाएको थियो।
त्यस्तै, उक्त अवधिमा विश्वका विभिन्न ८६ देशका सरकारहरुले ट्वीटर समक्ष आफ्नो देशका ट्वीटर प्रयोगकर्ता सम्बन्धी सूचना माग गरेका थिए। त्यसरी माग गरिएकामध्ये ३० प्रतिशत माग अमेरिकी सरकारबाट प्राप्त भएका थिए।
त्यस्तै ट्वीटरमा जानकारी उपलब्ध गराइदिन माग गरिएका अनुरोध मध्ये जापानबाट २४ प्रतिशत, भारत तथा जर्मनीबाट ६–६ प्रतिशत तथा फ्रान्सबाट ५ प्रतिशत रहेको ट्वीटरले जनाएको छ। त्यस्तै ट्वीटरले पहिलोपटक बुल्गेरिया, मेसेडोनिया तथा स्लोभेनिया लगायतका देशका सरकारहरुबाट समेत ट्वीटर अकाउन्ट सम्बद्ध जानकारी उपलब्ध गराउने अनुरोध प्राप्त गरेको छ।
तर, पछिल्लो समयमा विश्वका सरकारहरुद्वारा निश्चित ट्वीटर अकाउन्टहरुबाट सामाग्रीहरु हटाइदिनका लागि गरिने अनुरोधमा ८ प्रतिशतले कमी आएको ट्वीटरको भनाइ छ।



लाेकपाटी न्यूज

