अस्पताल धेरै बन्दैमा रोग न्युनीकरण हुँदैन : मन्त्री अर्याल

padma aryal
लाेकपाटी न्यूज

काठमाडौं, ३१ वैशाख। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले हामीले प्रयोग गर्ने विषादीले दिनप्रतिदिन आयु घट्दै गएको बताएकी छिन्। मंगलबारदेखि ललितपुरको कुपण्डोमा सुरु भएको २ दिने अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनमा बोल्दै मन्त्री अर्यालले हामीले सेवन गर्ने अधिकांश खाद्य सामग्रीमा विषादी भएको बताएकी हुन्।

खाद्यमा मिश्रित विषदीले मानिसको स्वास्थ्य प्रतिकुल भई डरलाग्दो परिस्थिति सिर्जना हुने उनको भनाइ छ। उनले रोगको उपचारका लागि अस्पताल मात्र नभई स्वस्थ्य खाना खानुपर्ने बताइन्। उनले भनिन्, ‘अस्पताल धेरै बन्दैमा रोग न्युनीकरण गर्न सकिँदैन।’

कार्यक्रममा बोल्दै उनले हामीले बारीमा प्रयोग गर्ने विषादीले केही क्षणका लागि उत्पादन बढे पनि उत्पादन क्षमता ह्रास हुँदै गएको बताइन्। उनले भनिन्, ‘यस्तो अवस्थाले नेपाली सुखी र समृद्ध हुन सक्दैनन्। पैसा कमाउने बहानामा तरकारीमा विषदी प्रयोग नगरौँ।’

यस्तै उनले सरकारको नीति तथा कार्यक्रममा पनि सहकारीलाई महत्व दिइएको प्रष्ट पारिन्। उनले भनिन्, ‘हामीले भूमि नीतिमा आधारित भएर भू–उपयोग ऐन अगाडी बढाइरहेका छौं।’ मन्त्री अर्यालले प्राङ्गारिक बहस पहिलो पटक निस्किएकोले यसलाई बहसको विषय बनाउन आवश्यक भएको समेत बताइन्। उनले प्राङ्गारिक खेतीतर्फ ध्यान दिन सबै किसानहरुलाई आग्रह समेत गरिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्