काठमाडौं, ३१ वैशाख । कृषि क्षेत्रमा रासायनिक प्रयोग बढिरहेको सन्दर्भमा कृषिमन्त्री चक्रपाणि खनालले नेपालमा प्राङ्गारिक खेती गर्न सकिने अवस्था रहेकोले प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।
उनले आजबाट कुपण्डोलस्थित हिमालय होटलमा शुरु भएको अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।
उनले प्राङ्गारिक खेती गर्न सकिन्न कि भनेर थाकेका कृषकहरुलाई हरेस नखान सुझाएका छन्। दुई दिनसम्म चल्ने सो सम्मेलनमा बोल्दै उनले भने, ‘प्राङारिक खेती गर्न सकिन्न भनेर थाकेका केही साथी पनि भेटेको छु । तर, नथाक्नुस् सकिन्छ। तर, गर्छु भनेर मात्र पुग्दैन। आँट्नुपर्छ।’
नेपालमा ३÷४ लाख रासायनिक मल आवश्यक रहेको बताउँदै कृषिमन्त्री खनालले त्यसको ठाउँमा प्राङ्गारिक मल प्रयोग गर्न सकिने उल्लेख गरे। उनले सिधै किसान, माटो, जनजीवनसँग जोडिने गरी बजेट छुट्याउन आवश्यक भएको पनि बताएका छन्। कर्णाली प्रदेशलाई प्राङ्गारिक घोषणा गरिएकाले त्यहाँ रासायनिक मल जान दिन नहुने खनालको भनाइ थियो।



लाेकपाटी न्यूज

