काठमाडौं, ३१ वैशाख। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीवादी विकासका कारण पृथ्वीको दोहन बढेको बताएका छन्। मंगलबारदेखि ललितपुरको कुपण्डोलमा सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय प्रांगारिक कृषि सम्मेलनमा बोल्दै उनले विश्वमा नै आफूलाई नाफा हेर्ने पुँजीवादी विकासको गति बढेकोले उक्त कुरा अनुचित भएको बताए।
बुधबारसम्म चल्ने सम्मेलनको प्रमुख अतिथि एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले उद्घाटन गरेका हुन्। होटल हिमालयमा सुरु सम्मेलनमा भूमिसुधारमन्त्री पद्मा अर्याल, कांग्रेस सांसद प्रदिप गिरी, नेकपा अध्यक्ष प्रचण्ड, कृषिमन्त्री चक्रपाणी खनालको उपस्थिति छ।
उद्घाटन सत्रमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष प्रचण्डले जलवायु परिवर्तन र विकासको मोडेलका कारण मानव जातिले धेरै समस्या भोगेको बताउँदै समस्या समाधान गर्न बहस फलदायी हुने बताए। उनले भने, ‘यसरी विकासलाई सही दिशा दिन सकिँदैन। राजनीतिक स्थायित्वसँगै विकासको मोडेल त्यसलाई सञ्चालन गर्ने विधि सही भएन भने विकास सही बाटोमा जाँदैन।’
आधुनिक खेती गर्ने भने पनि दिनप्रतिदिन आयातमुखी हुनथालेकोले यसको समीक्षा गर्ने बेला भएको उनको भनाइ छ। उनले अगाडि भने, ‘अर्बौँको कागती मात्र आयात गर्नुपर्ने परिस्थितिको सृजना कसले गर्यो, कुन राजनीतिक प्रणालीले गर्यो त्यसको समीक्षा गर्ने उपयुक्त बेला आएको छ।’
अध्यक्ष प्रचण्डले प्रकृतिको दोहन नगर्ने विकासको मोडेलतिर जान चाहेको समेत खुलाए। उनले आफूलाई पनि राजनीति गरिसकेपछि प्रांगारिक खेतीमा जान मनलागेको बताए। तर जनताले त्यति जान नदिने भन्दै ठट्टा समेत गरेका थिए।



लाेकपाटी न्यूज

