काठमाडौं, ३० वैशाख । एन्ड्रोइडको पन्ध्रौं संस्करण ‘एन्ड्रोइड १० क्यू बेटा ३’ चाँडै सार्वजनिक हुँदैछ। अमेरिकी बहुराष्ट्रिय कम्पनी गुगलले आफ्नो वर्तमान मोबाइल सन्चालन प्रणाली एन्ड्रोइड ९ लाई परिस्कृत गर्दै एन्ड्रोइड १० क्यू बेटा ३ ल्याउन लागेको हो।
यसको सार्वजनिक मिति घोषणा नभए पनि चाँडै लन्च हुने जनाइएको छ। गुगल विश्वकै एक उत्कृष्ट प्रविधि कम्पनी हो। यसको सर्च इन्जिन गुगल निकै चर्चित छ। साथै यस कम्पनीले सफ्टवेर, हार्डवेयर, मोबाइल फोनहरु निर्माण गर्दछ।
यद्यपी एन्ड्रोइडलाई गुगलले निर्माण गरेको भने होइन्। एन्ड्रोइड कम्पनीको रुपमा सुरुवात भएको थियो। सुरुवाती चरणमै हुँदा गुगलले सन् २००५ मा एन्ड्रोइडलाई खरिद गरेको हो। एन्ड्रोइड मोबाइल सन्चालन प्रणाली सुरुवातदेखि टच फोनमा मात्र प्रयोग हुँदै आएको छ।
हालसम्म एन्ड्रोइडका १४ संस्करण लन्च भएका छन्। पछिल्लो एन्ड्रोइड संस्करण एन्ड्रोइड ९ हो, यसलाई एन्ड्रोइड पाइ भनेर समेत चिनिन्छ। जति संस्करणमा एन्ड्रोइड लन्च भएको छ,यसले आधुनिक मोबाइलमा नयाँ फिचरहरु प्रदान गर्दै आएको छ।
हाल सार्वजनिक हुन लागेको १५ संस्करणको एन्ड्रोइड अर्थात् एन्ड्रोइड १० क्यू बेटा ३ को फिचरहरु पहिलेका संस्करणभन्दा निकै परिस्कृत छन्। यसले एन्ड्रोइड मोबाइल सन्चालन प्रणालीमा आधारित मोबाइल चलाउने मानिसहरुलाई नयाँ स्वाद दिनेछ। हाललाई एन्ड्रोइडको नयाँ संस्करण सीमित फोनमा मात्र उपलब्ध हुनेछन्। गुगलका अनुसार सुरुवाती चरणमा २१ फोनमा एन्ड्रोइडको नयाँ सुविधा प्रदान गरिनेछ।
एन्ड्रोइड १० क्यू बेटा ३ का विशेषताहरु
१. गोपनियतामा गम्भीरः दशौं संस्करणको यस मोबाइल संचालन प्रणालीले गोपनियतामा गम्भीरता देखाएको छ। यस संस्करणको फोन प्रयोग गर्ने व्यक्तिले कुनै एप्लीकेशन प्रयोग गर्दा त्यसमा लोकेसन अनअफ गर्न सक्छन्।
पहिलेका एन्ड्रोइडमा लोकेसन सेवा उपलब्ध हुने नुहने दुवै अवस्था थिए। मोबाइल हराएमा समेत यस सुविधाबाट हामीलाई लाभ मिल्नेछ। किनभने यसमा प्रत्येक एप्लीकेशनमा लोकेसन सेवा प्रदान गरिएको छ।जसलाई हामीले अन गरेर छाड्न सक्छौं। पहिले लोकेसन आफ गर्ने र अन गर्ने एकै फिचर थियो।
२. बबल सुविधाः फेसबुक म्यासेन्जरमा च्याटहेड्स भन्ने सुविधाजस्तै नयाँ एन्ड्रोइडमा बबलको सुविधा दिइएको छ। यसले आफूले कुन एप्स चलाइरहेका छौं अथवा खोलिरहेका छौं भन्ने जानकारी डिस्प्लेमै देखाउँछ। जसले गर्दा हामीले नचाहिने एप्सलाई बन्द गर्नसक्छौं। यसले एन्ड्रोइड प्रणालीमा भार कमगर्दछ। मोबाइल ह्याङ हुने समस्या कम हुनेछ।
३. सेयरिङ सर्टकटः पहिलेका एन्ड्रोइड प्रणालीमाजस्तै नयाँ एन्ड्रोइडमासमेत फाइल सेयरिङ फिचर छ। तर पहिलेभन्दा यसपटक निकै छिटो कुन एपमा फाइल सेयर गर्नेभन्ने देखाउँछ। यसले प्रयोगकर्तालाई पहिलेको झन्झटिलो र पर्खिनुपर्ने वातावरणलाई हल गर्नेछ।
४. डार्क थिमः गुगलले नयाँ एन्ड्रोइड प्रणालीमा डार्क थिम फिचर प्रदान गर्नेछ। यो सेवा मार्फत हामीले आफ्नो ब्याट्रीको ब्याकअप जोगाउन सक्छौं भने आँखाको दुखाई पनि कम गर्नसक्छौं। फेसबुक म्यासेन्जर, ट्विटरमा समेत डार्क थिमजस्तै फिचर प्रदान गरिएको छ।
५. लाइभ क्याप्सनः नयाँ एन्ड्रोइड प्रणाली कान कमजोर भएका व्यक्तिकालागि समेत लाभदायि छ। यसमा भिडियोमा सबटाइटलको अटो व्यवस्था गरिएको छ। अर्थात् प्रयोगकर्ताले भिडियोसँगै के भनिरहेको भनेर शब्दमा हेर्न सक्छन्।
६. समयसिमाको सुविधाः हामी प्राय फोन पाउनेवित्तिकै धेरैबेर चलाउन खोज्छौं। जसले हाम्रो महत्वपूर्ण समय बर्वाद गरिरहेको हुन्छ।
एन्ड्रोइड १० मा भने हामीले कुन एप्लीकेसन कतिबेलासम्म चलाउने, फोन कतिबेला चलाउने भन्ने समयसिमा तोक्न सक्छौं। यसको मतलब निश्चित समयपछि फोनले हामीलाई फोन चलाउने कि नचलाउने भन्ने सन्देश दिन्छ।
७. फोल्डिङ फोनमा उपयुक्तः एन्ड्रोइडको यस भर्सन फोल्डिङ फोनमा समेत उपयुक्त हुने जनाइएको छ। हाल विश्व फोल्डिङ फोनको युगमा प्रवेश गरेको छ। सामसुङले ग्यालेस्की फोल्ड, हुवावेको एक्स मेट लगायत साओमीका फोल्डिङ फोन बजारमा आउने तरखरमा छन्। यस्ता फोनमा ३ वटासम्म एप्लिकेशन चलाउन मिल्छ।
तर पहिलेका एन्ड्रोइड प्रणालीमा ३ वटा एप्लीकेशन प्रयोग भए मोबाइल ह्याङ हुने समस्या उत्पन्न हुने संभावना हुन्छ। नयाँ संस्करणको एन्ड्रोइडमा भने सहज रुपमा धेरै एप्लिकेशन चलाउन सकिनेछ। –एजेन्सी



लाेकपाटी न्यूज

