काठमाडौं। बाँके क्षेत्र नं.–१ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ले आर्थिक वर्ष २०७६/०७७ का लागि आफ्नो क्षेत्रका विभिन्न योजनामा बजेटको व्यवस्था गर्न अर्थमन्त्रीसँग माग गरेका छन्।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद गहतराजले आइतबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर आफ्नो क्षेत्रका योजनामा बजेटको माग गरेका हुन्। गहतराजले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि अर्थमन्त्रीसँग बजेट माग गरेका छन्।
गहतराजले आगामी बजेटमा सिक्टा सिँचाइ आयोजनाको काम सम्पन्न गर्न राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सबै वडाहरुमा विद्युतीकरण गर्नका लागि आवश्यक बजेटको ब्यवस्था गर्न, राप्ती नदी र डुडुवा नालाको दुवै साइडमा पक्की तटबन्धका लागि बजेटको व्यवस्था गर्न पनि माग गरेका छन्।
त्यसैगरि कोहलपुरमा सगिन सहरीकरण कार्यक्रम लागू गर्न, नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गर्न, कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति गर्न, नेपालगञ्जको भेरी हस्पिटललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न पनि आवश्यक बजेटको माग गरेका छन्।
सांसद गहतराजले राप्ती सोनारीको कचनापुरमा आर्थिक शेज स्थापना गर्न, रुपैडियादेखि नेपालगञ्ज सुर्खेत दैलेख हुम्ला हिल्सा हुँदै चीन जोड्ने अन्तर्राष्ट्रिय सडक बनाउन, नेपालगञ्जदेखि सुयाबगौडासम्मको हुलाकी सडकमा पर्ने मोटरेबल पुल निर्माण गर्न, कोहलपुर चौराहादेखि उत्तरतिरको भागमा मिनि चिडियाखानासहितको बोटानिल पार्क निर्माण गर्न पनि माग गरेका छन्।
उनले अगैयादेखि कचनापुर राझा एरपोर्ट बडैयाताल ठाकुरद्वारा हुँदै टिकापुर सम्मको सडक निर्माण र कोहलपुर चप्परगौडीदेखि कालिमाटी हुँदै सल्यानसम्म सडक निर्माणका लागि पनि आवश्यक बजेटको व्यवस्था गर्न अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएका छन्।
त्यसैगरि उनले नेपालगञ्जस्थित सुख्खा बन्दरगाहलाई व्यवस्थित गर्न पनि अर्थमन्त्रीसँग माग गरेका छन्। कोहलपुर–सुर्खेत सडक र महेन्द्र राजमार्गको बाँके–बर्दिया खण्ड चार लेनको बनाउनुपर्ने सांसद गहतराजको माग छ।



लाेकपाटी न्यूज

