इस्लामावाद, २९ वैशाख। चीन-पाकिस्तान आर्थिक करिडोरअन्तर्गत चीनले बन्दरगाहलगायत संरचना बनाइरहेको पाकिस्तानको ग्वादरको एक पाँचतारे होटलमा शनिबार साँझ आतंकवादी आक्रमण भएको छ।
तीन जना बन्दुकधारीले जाभेर पर्ल-कन्टिनेन्टल होटलमा आक्रमण गरेका हुन्। होटलका सुरक्षा गार्डलाई गोली हानेर बन्दुकधारी भित्र पसेका थिए। मुस्लिमहरूको पवित्र महिना रमजान भएकाले होटलमा कुनै पाहुना थिएनन्।
होटलका प्रवक्ताले कर्मचारी पनि निकै कम भएकाले बन्दुकधारीको आक्रमणबाट थप क्षति नभएको बताए। ग्वादरमा बाक्लो मात्रामा सुरक्षाकर्मी रहेकोले केहीबेरमै सुरक्षाकर्मी होटलमा पसेर बन्दुकधारीलाई नियन्त्रणमा लिएका थिए।
आक्रमण जिम्मा पृथकतावादी समूह बलोचस्तान लिबरेसन आर्मीले लिएको छ।
ग्वादरमा भइरहेको चीनियाँ लगानीको विरोधमा उक्त आक्रमण गरिएको अझै थप आक्रमण गर्ने उसको चेतावनी छ।
ग्वादर बन्दरगाहबाट अरेबियन सागरसँग जोडिन चीनले ग्वादरमा महत्वपूर्ण संरचना बनाइरहेको छ। बलोचस्तान लिबरेसन आर्मीले भने चिनियाँ लगानीबाट स्थानीयलाई केही फाइदा नहुने भन्दै विरोध गर्दै आएको छ।
गत वर्ष उक्त समूहले कराँचीस्थित चिनियाँ महावाणिज्यदूतावासमा पनि आक्रमण गरेको थियो।इस्लामावादस्थित चीनियाँ राजदूतावासले आफ्नो देशले बनाइरहेको बन्दरगाहनजिकैको होटलमा भएको आक्रमणको निन्दा गरेको छ।
इरान र अफगानिस्तानसँग सीमा जोडिएको बलोचस्तान पाकिस्तानको गरीब प्रान्तमध्ये पर्छ।



लाेकपाटी न्यूज

