काठमाडौं। नेपाली कांग्रेसमा आफ्नै पार्टी नेताविरुद्ध अन्तर्घातको मुद्दा (उजुरी) पर्ने क्रम रोकिएको छैन। गत वर्षको चुनावमा अन्तर्घात गरेको र पार्टीलाई हराएको भन्दै नेता गोपालमान श्रेष्ठविरुद्ध उजुरी परेको छ।
कांग्रेसले पार्टी अनुशासन विरुद्दका गतविधि नियन्त्रण गर्न र दोषीमाथी कारवाही गर्न अनुशासन समिति बनाएको छ। काग्रेसमा देखिएको गुटगत भागबण्डाका आधारमा बनेको अनुशासन समितिले त्यस्ता उजुरीको छानविन गरी कारवाही गर्ने हैसियत राख्छ/राख्दैन, ठेगान छैन। तर उजुरी पर्ने क्रम जारी रहेको अनुशासन समितिले जनाएको छ।
अनुशासन समितिमा पार्टी नेता गोपालमान श्रेष्ठविरुद्ध नै अहिले उजुरी परेको छ। श्रेष्ठका कारण स्याङ्गजा कांग्रेस कमजोर बनेको गम्भिर आरोप लगाउँदै स्याङ्गजाकै कांग्रेस नेता एवं महासमिति सदस्य भोजराज अर्यालले उजुरी दर्ता गराएका छन्।
श्रेष्ठले गत बर्ष सम्पन्न स्थानीय, प्रदेश र संघीय चुनावको टिकट वितरणमा आफ्नै कार्यकर्तामाझ लिलाम बढाबढमा टिकट बिक्री वितरण गरेको तथा आफ्नो गुटइतरका कांग्रेस उम्मेदवारहरुलाई हराउन सशक्त भूमिका निर्वाह गरेको गम्भिर आरोप उनले लगाएका छन्।
श्रेष्ठ पार्टी सभापति देउवा निकटका नेता हुन्। उनले विगतमा पार्टी विभाजनका बेलाका काग्रेस प्रजातान्त्रिकमा रहेका नेता कार्यकर्तालाई मात्रै आफ्नो ठान्ने र अन्य नेता कार्यकर्तालाई भने भूमिकाविहिन बनाउनेदेखि अवसरका सबै क्षेत्रमा रोक लगाउने काम गरेको आरोप लागेको छ।
श्रेष्ठले गरेका पार्टी हित विपरितका गतिविधिको पृष्ठभूमिसहितको चार बुँदे आरोप अर्यालले लगाएका छन्। गत प्रदेशसभा चुनावका बेला स्याङ्जा क्षेत्र न. २ (क) बाट उम्मेदवारको टिकट दिन आफूलाई घरमै बोलाई टिकट मिलाई दिएवापत कति पैसा दिन सक्नुहुन्छ भनि सोध्दा आफूले एक पैसा पनि दिन सक्दिनँ भन्ने जवाफ फर्काएपछि पैसा नदिने भए टिकट पनि दिन सक्दिनँ भन्दै टिकट नदिएको आरोप पनि अर्यालले श्रेष्ठमाथि लगाएका छन्।
गोपालमान श्रेष्ठ विरुद्धको उजुरी
२०४८ सालको पहिलो आमनिर्वाचनमा स्याङ्जाका ४ वटै क्षेत्रबाट नेपाली कांग्रेस विजयी भएको थिया । जसको श्रेय सो बेलासम्म कांग्रेसलाई डोर्याउने अग्रजहरुलाई जान्छ। तर, ०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेसभित्र भाइरस पसिसकेको थियो। महामानव बीपी कोइरालाले भनेजस्तै कांग्रेस सत्तामा पुगेपछि सुकिलामुकिलाहरुको पार्टीमा हावी हुन थालेको र चरम अनुशासनहिनताले गर्दा स्याङ्जाले आफ्नो पूरानो बिरासत जोगाउन सकेन।
२०४८ सालको निर्वाचनमा स्याङ्जाबाट नै अत्याधिक बहुमतले निर्वाचित भएर गएका गोपालमान श्रेष्ठकै कारण कांग्रेसमा अनुशासनहिनता, भ्रष्टाचार र गुटबन्दी शुरु भयो, जसको असर स्याङ्जा कांग्रेसमा पनि पर्यो। त्यसले कांग्रेसको संगठन अधोगतितर्फ उन्मुख भयो। पार्टीभित्र बढेको गुटबन्दीले पूराना नेता कार्यकर्तालाई बेवास्ता गर्ने परिपाटी र पैसा लिएर टिकट बाँड्ने पद्धतिको विकाससँगै आफ्नो गुटइतरको उम्मेद्धवारलाई हराउन अर्कै पार्टीको उम्मेद्धवारलाई भोट हाल्न लगाउने प्रवृत्तिले गत वर्ष सम्पन्न स्थानीय, प्रदेश र केन्द्रको चुनावमा स्याङ्जा कांग्रेसले दर्दनाक हार व्यहोरेको हो।
स्याङ्जाका ११ वटा स्थनीय निकायमा तीन वटा, ६ वटा प्रदेश सभामा १ र संघीय संसदमा शून्य विजयले कांग्रेसका तमाम कार्यकर्तालाई लज्जित बनाएको छ। यसको मुल कारण पार्टी विभाजनका बेला नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापति तथा निरन्तर आफ्नै हैकमबाट जिल्लाको संगठन चलाउन खोज्ने वर्तमान केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ नै हुन्।
श्रेष्ठले पार्टी विभाजनका बेला प्रजातान्त्रिकमा आबद्ध कार्यकर्ताबाहेक अरुलाई कांग्रेस नै नठान्ने प्रवृत्ति देखाइरहेका छन्। आफ्नो गुटमा नआउने र उनलाई जी हजुरी नगर्ने जति सबैलाई संगठनबाट किनारा लगाउन पैसाको चलखेल गर्ने र पार्टीलाई आफ्नो मुठ्ठीको माखो बनाउने हदैसम्मको घिनलाग्दो कार्य गर्दै आएकोले उनलाई अनुशासनहिनताको कठोर कारवाही गर्नुपर्ने देखिन्छ।
यतिमात्रै होइन, श्रेष्ठले तत्कालिन पार्टी सभापति कमल पंगेनीलाई स्याङ्जाकै प्रदेश सभाको क्षेत्र नं. १ (ख) बाट हराउनसमेत आफ्ना गुटका कार्यकर्ता परिचालन गरेका थिए। केन्द्रमा आफ्नो पहुँच र हैकम विस्तार गरी स्याङ्जाको टिकट आफ्नै पोल्टाबाट बाँड्ने र केन्द्रीय नेतृत्वले त्यसमा आँखा चिम्लिँदा स्याङ्जा कांगे्रस दिन प्रतिदिन कमजोर हुँदै गएकोले गोपालमानबाट स्याङ्जा कांग्रेसलाई राहत दिन र मुक्त गर्न माग गर्दछु।
उजुरी दिने अर्याल को हुन् ?
श्रेष्ठ विरुद्ध पार्टी अनुशासन समितिमा उजुरी दिने नेता भोजराज अर्याल तत्कालिन पञ्चायतविरुद्धको आन्दोलनमा धेरैपटक जेलनेल खाएका व्यक्ति हुन्। २०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेर नेपाली राजनीतिमा प्रवेश गरेका अर्याल २०३१ सालबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन्।
२०३१ सालबाटै पार्टीको प्रारम्भिक समितिमा रहेर काम शुरु गरेका अर्याल २०३६ सालको विद्यार्थी आन्दोलनका कमाण्डर समेत हुन्। अर्यालले २०३७ सालको जनमत संग्रहमा ७ नम्वर इलाकाको संयोजक भएर काम गरेका थिए। दुवै आन्दोलनका क्रममा अर्याललाई तत्कालिन पञ्चायती सरकारले गिरफ्तार गरी कास्की कारागार पुर्याएको थियो। सो क्रममा उनलाई हातका औलामा पीन ठोक्ने र टाउकोमा लाठी बजार्ने काम पनि भएको थियो।
२०३६ सालको आन्दोलनमा अर्यालको टाउकाको मुल्य समेत तोकिएको थियो। उनको टाउको ल्याउने व्यक्तिलाई तत्कालिन बेला ५० हजार रुपैयाँ पुरस्कारसमेत तोकिएको थियो। २०४२ सालको सत्याग्रहको आन्दोलनमा रुपन्देहीको सालझण्डीबाट गिरफ्तारीमा परेका अर्याल एक बर्षसम्म जेल बसेका थिए।
ठूलो पदको लाभमा नपुगेका अर्यालले २०४९ सालमा वालिङ गाविसको अध्यक्ष र ०५४ सालमा वालिङ नगर प्रमुखमा विजयी भएका थिए। २०७० को संविधान सभाको निर्वाचनमा क्षेत्र नम्वर २ बाट एक नम्बरमा कार्यकर्ताले सिफारिस गर्दा पनि उनले टिकट पाएनन्। २०७४ को निर्वाचनमा प्रदेश सांसदमा भने पैसाकै कारण टिकट नपाएको अर्याल बताउँछन्।


लाेकपाटी न्यूज

