बयलपाटा अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्छौं : भीम रावल

Bhim-Rawal-2
लाेकपाटी न्यूज

अछाम, २८ वैशाख । नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले न्याय हेल्थ नेपालद्धारा संचालित अछामको वायलपाता अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

उनले अस्पतालले प्रदान गरीरहेको सेवा देशमै नमूनाको रुपमा रहेको र अझै स्तरोन्नति गरी शिक्षण अस्पतालको रुपमा विकास गर्न आफू लागिरहेको बताए। न्याय हेल्थ नेपालको दशौंँ बार्षिकोत्सव समारोहमा प्रमूख अतिथिको रुपमा बोल्दै रावलले सबैको पहलबाट अस्पताल यो स्थानमा आएको र शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्ने सबैको चाहना रहेको स्पष्ट पारे।

न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एस. पी कलौनीको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सभा सदस्य समेत रहेका नेता रावलले अस्पतालले जिल्लाका विभिन्न स्थानमा सेवा विस्तार गरेको भन्दै जनताको स्वास्थ्य अधिकारलाई प्रश्रय दिन लागिपरेको बताए। हाल सुविधा सम्पन्न भवन निर्माण भएका र फेरी पनि यसका लागि पहल गरी संघीय सरकार र प्रदेश सरकारलाई उचित बजेट विनियोजनका लागि घच्घचाईरहने र बजेट आउने विश्वास व्यक्त गरे।

न्याय हेल्थ नेपालले स्वास्थ्य सेवामा १० बर्षको साझेदारी पुरा गरेको अवसरमा भएको कार्यक्रमका बिशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले हालै सरकारको निति तथा कार्यक्रममा समेत स्वास्थ्य सेवालाई प्राथमिकता दिएको भन्दै अस्पतालको सेवाले जिल्लाकै नाम उच्च भएको बताउनु भयो । न्याय हेल्थ नेपालले एक दशकदेखि नेपालका दुर्गम क्षेत्रका समुदायहरुलाई अस्पताल सहतिको निःशुल्क सामुदायिक स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल सरकार सँगको साझेदारी तथा सहकार्यमा सुदूरपश्चिमको अछाममा बयालपाटा अस्पतालबाट र २०७२ सालको भुकम्प पछि दोलखा चरिकोट अस्पताल तथा हालै अछामको चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत व्यवस्थापन गर्दै निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । अछाम र दोलखा गरि विभिन्न ९ भन्दा बढी स्थानीय तहमा सामुदायिक स्वास्थ्य कार्यक्रम लागु भई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

३ सय ७० जना कर्मचारीहरुसहित बार्षिक रुपमा १ लाख ६५ हजार भन्दा बढी बिरामीलाई निशूल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको यस संस्थाले स्थापनाकाल देख नै स्वास्थ्य सेवालाई सर्भसुलभ बनाउँदै एकीकृत स्वास्थ्य प्रणाली मार्फत ७ लाख बढी बिामीहरुलाई प्रत्यक्ष रुपमा सेवा दिइसकेको छ । न्याय हेल्थ नेपालले सरकारी स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरुको सुधार ल्याउने, स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिने, सामुदायिक स्वास्थ्यकमीहरुद्धारा घरघरमा सेवा दिने, कागजरहित सेवा(बिद्युतीय अभिलेख राख्ने तथा राष्ट्रिय नीति निर्माणमा सहयोग हुने खालका अनुसन्धान गर्ने उद्देश्यका साथ काम गरिरहेको अस्पतालले जनाएको छ ।

बार्षिकोत्सवमा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्द, मीना साउँद, जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, नेकपामा नेता शिलोज कुँवर, नेपाली कांग्रेसका उपसभापति चन्द्र प्रसाद ढुंगाना, साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, मंगलसैन नगर उपप्रमुख सरिता उपाध्याय, रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल, मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाह, समाजसेवी राजन कुँवर, साँफेबगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष मिठु भाटले संस्था मार्फत संचालिन अस्पतालको दिगोपनाका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता सहितको शुभकामना मन्तव्य राखेका थिए।

न्याय हेल्थ नेपालमा अनवरत रुपमा १० बर्षसम्म सेवा गरेका १३ जना कर्मचारीहरुलाई प्रमूख अतिथिबाट सम्मान समेत गरिएको थियो । १० बर्ष पुराभएको अवसरमा संगीता नेपाली, पवित्रा कुँवरले आफ्नो कार्य अनुभव राख्नु भएको थियो भने संस्थाले १० बर्षमा हासिल गरेका मुख्य उपलब्धिका बारेमा समेत विभागीय कर्मचारीहरुले कार्यक्रममा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्