काठमाडौं, २८ वैशाख । ललितपुर महानगरपालिका २६ सुनाकोठी बस्ने ६१ वर्षीय कृष्ण पौडेललाई बन्धक बनाएको अभियोगमा महाकाल गाउँपालिका २ बस्ने ३९ वर्षीय अनिता भुजेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनलाई बन्धक बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले ललितपुर इमाडोल पुल नजिक फेला पारी कृष्णलाई उद्धार गरी अनितालाई पक्राउ गरेको हो । अनिताका सहयोगी काभ्रे घर भएका छेवाङ लामा फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक ४४ वर्षीया बन्दना सोनीलाई १ लाख अमेरिकी डलरसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा नेपाल एयरको उडानद्धारा भारतको मुम्वईतर्फ जान लागेकी सोनीले बोकेको ह्याण्डब्यागमा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उक्त अमेरिकी डलर फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै मोरङको पथरी शनिश्चरे नगरपालिका ५ हसनदह बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभीयोगमा सोही नगरपालिका ६ बस्ने ४६ वर्षीय देबिन्द्र खड्कालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरी चौकी कुशेचौरीमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उपर्युक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

