बुटवल, २८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाली कांग्रेस मिलेको दिन नेपालमा कम्युनिष्टहरु सकिने बताएका छन्। नेपाली कांग्रेस बुटवल उपमहानगरको सम्मेलनलाई बुटवलमा सम्बोधनका क्रममा कांग्रेसबाटै कांग्रेस हारेको टिप्पणी गर्दै कांग्रेस एकढिक्का भएको दिन कम्युनिष्टहरु सकिने बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्म कांग्रेस किन एक हुन सकेको छैन, म पनि अचम्म पर्र्छु, संसारमा लोप हुँदै गएको कम्युनिष्ट नेपालमा मात्रै केही जिवित छ, अब हामी मिलेपछि त्यो पनि सकिन्छ।’ उनले थपे, ‘कांग्रेस हार्नुमा हामी सबै जिम्मेवार छौं, मैले पनि जिम्मेवारी लिन्छु, टिकट वितरण केन्द्रबाट होइन स्थानीय स्तरबाटै हुनुपर्छ’ उनले भने । उनले देशको अवस्था निकै असहज भएको भन्दै कांग्रेस एक भएर देशको समस्या समाधानमा लाग्ने बताए ।
कांग्रेस संसदीय दलका प्रमूख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री र मन्त्रीहरुलाई सम्हालिएर बोल्न आग्रह गरे । उनले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कांग्रेसको ‘जय नेपाल’ सहिद शुक्रराज शास्त्री र बिपी कोइरालाको जय नेपाल भएको भन्दै कांग्रेसलाइ कमजोर नठान्न चेतावनी दिए । उनले कांग्रेसले राणा, पञ्चायत, राजा समाप्त पारेको इतिहास रहेको भन्दै अब नेपालका कम्युनिष्ट समाप्त पार्ने चेतावनी समेत दिए ।
अर्का केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले सरकारले १ बर्षसम्म केही राम्रा काम गर्न नसकेको भन्दै अब यसबाट कुनै समृद्धिको सपना पूरा नहुने दाबी गरे । केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री निरंकुश बनेको आरोप लगाए । देशमा चनाचट्पटे बेचेझैं नागरिकता बेचेर समृद्धि हुन नसक्ने भन्दै उनले सरकारको कडा आलोचना गरे ।



लाेकपाटी न्यूज

