काठमाडौं, २८ वैशाख। नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लजजास्पद भएको बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर १ मा आज आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले वर्तमान सरकारका गतिविधिले संसदिय व्यवस्थामा आँच पुगेको बताएका हुन्। सरकार केहि काम नगरी समृद्धिको नारा लगाएर मात्र बसेको उनको आरोप छ। सरकारले सुशासन दिन नसकेको बताउँदै उनले विकास बजेट खर्च गर्न नसकेको र संघियता असफल बनाउन उद्धीत रहेको बताए।
नेता सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउन जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुने बताए। अहिलेको सरकारमा रहेका दलहरु मुलुकमा द्धन्दमार्फत सत्तामा पुगेको उदाहरण दिँदै काँग्रेस माओवादी र एमाले जस्तो हिँसात्मक बाटोबाट स्थापित नभएको बताए। आफुहरुले सधैं जनमतको सम्मन गरेको उनको भनाइ छ।
नेकपाको दुईतिहाई सरकार भएको भए पनि देशले राहत नपाउने ठोकुवा गर्दै संविधान बनाउदा कम्युनिष्टका ४ जना विद्वान प्रधानमन्त्री भए पनि संविधान जारी नभएको कुरा ख्याल गर्नसमेत उनले आग्रह गरे।
दुई तिहाई वा बहुमत जस्तो भएपनि संविधानको भावना र मर्म बिपरित अगाडि बढ्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने उनको भनाइ छ। यति बेला सरकारका गतिविधिले चौतर्फि रुपमा निरासा छाएको र त्रासको वातावरण सिर्जना भएको उनले बताए।



लाेकपाटी न्यूज
