कसरी गरिन्छ मौसमको भविष्यवाणी ?

Cloudy sky
लाेकपाटी न्यूज

काठमाडौं। ‘नमस्कार, जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको दैनिक विहान/साँझको बुलेटिनमा यहाँलाई स्वागत छ। गत २४ घण्टाको मौसमी विवरण।’ जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको १६१८०७०७३३३३३ मा डायल गर्दा आजकाल जसले पनि यस्तै जवाफ पाउँछ।

मौसमी गतिविधि थाहा पाउन धेरैले सञ्चार माध्यमको सहायता लिन्छन्। तर, जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखामा टेलिफोन गरेर पनि मौसमी अवस्था बुझ्न सकिन्छ। महाशाखामा सम्पर्क गरेर आउने ७२ घण्टासम्मको मौसमको पूर्वानुमान लिन सकिन्छ।

महाशाखाले गएको वर्ष जेठदेखि टेलिफोन सेवा सुरु गरेको हो। ‘विशेषगरी सञ्चारमाध्यमले यो सुविधा बढि प्रयोग गर्ने गरेका छन्’ महाशाखाका प्रमुख सुमनकुमार रेग्मीले भने, ‘सर्वसाधारणले पनि फोन गरेर मौसमी गतिविधिबारे अपडेट हुने गरेका छन्, यसले नागरिकलाई धेरै नै राहत मिलेको छ।’

सामान्यत टेलिफोनमा विहान र बेलुका मौसमी गतिविधि अपडेट गर्ने गरिन्छ। ‘विशेष मौसमी अवस्थामा अरु बेला पनि अपडेट गर्ने गरेका छौं’ रेग्मीले भने। मौसमप्रति जनचासो बढ्दै गएकाले यसको अदलीबदलीबारे भ्वाइस मेलमार्फत् सूचित गर्ने व्यवस्था गरिएको रेग्मीले जानकारी दिए।

गएको २४ घण्टामा देशभर कहाँ, के भयो ? दिनभरको अवस्था कस्तो रह्यो ? आउँदो २४ घण्टाभित्र कहाँ के हुँदैछ ? कहाँ पानी पर्छ ? कता घाम लाग्छ ? मौसमको विकास कसरी भइरहेको छ लगायतका जानकारी भ्वाइस मेलबाट थाहा पाउन सकिन्छ।

मौसमी विवरण थाहा पाउनको लागि महाशाखाको टेलिफोन नम्बरमा डायल गर्दा प्रति सन्देश एक रुपैंया खर्च हुन्छ। महाशाखाले मौसमी विवरण आफ्नो वेवसाइटमा पनि राख्दै आएको छ।

एकछिन घाम चर्किन्छ, उतिखेरै बादल लाग्छ। यसपाली हिउँदे वर्षा तन्किएर प्रारम्भिक मनसुनको सिजनलाई भेट्यो। प्रारम्भिक मनसुनको समयमा पनि उसैगरी वर्षा हुने छाँट देखिएको छ। एकैछिनमा भारी वर्षा हुन सक्छ।
तर, बादल देखिने बित्तिकै पानी परिहाल्छ भन्ने छैन। किनकी प्रारम्भिक मनसुनको सिजनमा बदली मात्रै भएर पनि दिन त्यसै टर्न सक्छ। पानी पर्दैन भनेर ढुक्क भएर बस्दा पनि वर्षा भइहाल्न सक्छ। त्यसैले टेलिफोनबाट प्राप्त हुने मौसमको जानकारी जसका लागि पनि कामलाग्दो हुनसक्छ।

कसरी हुन्छ मौसम अनुमान ?

५–७ वर्ष अघिसम्म मौसमविदहरुले परम्परागत प्रविधिमार्फत मौसमको भविष्यवाणी गर्थे। वेदर चार्ट एनालाइसिस अर्थात् नक्सामा पहिलेका डाटाहरु तथा उच्चचापीय र न्यूनचापीय क्षेत्र हेरेर मौसमको हिसाब गर्नुपर्ने बाध्यता थियो।

तर, अहिले मौसमविदले परम्परागत विधिसँगै आधुनिक प्रविधिको पनि प्रयोग गर्छन्। कम्प्युटर भूउपग्रहको तस्वीर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिन्छ।

‘स्याटेलाइट इमेजको प्रयोग भएको सातआठ वर्ष जति भयो, अनि दुई तीन वर्षदेखि एनडब्ल्यूपी अर्थात् सिष्टम न्युमेरिकल वेदर पेडिक्सनको पनि प्रयोग हुन थालेको छ’ मौसमविद राजु प्रधानांगले जानकारी दिए।

यस प्रविधिबाट वायुको बहाव, न्यूनचापीय र अधिकचापीय क्षेत्रको अवस्था लगायतको विश्लेषण र हरहिसाब गरी मौसम भविष्यवाणी गरिन्छ। आधुनिक स्याटलाइट डिस्ट्रीब्युट सिस्टममार्फत् प्राप्त हुने विश्वका विभिन्न स्थानको मौसम जानकारीलाई थप स्रोतको रूपमा उपयोग गरिन्छ।

भारत लगायत विभिन्न मुलुकहरूबाट गणितीय प्रविधिबाट प्राप्त हुने मौसम विवरण पनि उपयोगी हुन्छन्। यसरी विस्तृत रूपमा विभिन्न वैज्ञानिक प्रविधिको माध्यमबाट अध्ययन तथा विश्लेषणपछि मात्र त्यस दिनको मौसम भविष्यवाणी गरिन्छ।

यस्तो भविष्यवाणी गर्दा मुलुकलाई साधारणतः तीन भागमा अर्थात् पश्चिम, मध्य र पूर्वी भेगमा विभाजन गरिन्छ। साथै ती भेगमा देखा पर्न सक्ने मौसमी गतिविधिलाई समेत दृष्टिगत गरी मौसम भविष्यवाणी गरिन्छ।

यसरी भविष्यवाणी गर्दा मुलुकका बिभिन्न ठाउँका साथै छिमेक र विश्वकै मौसम गतिविधिको जानकारी लिनुपर्ने हुन्छ। मौसमविद कँडेलका अनुसार देशका १६ ठाउँमा रहेका केन्द्रबाट हरेक तीन/तीन घण्टामा मौसमी अवस्थाको जानकारी लिएर अपडेट गर्ने काम हुन्छ।

मौसमविदका अनुसार पृथ्वीको सतहदेखि १६ किलोमिटर माथिसम्मका बिभिन्न स्ट्यान्डर्सका तथ्याङ्क लिएर मौसमी हरहिसाब गरिन्छ। यूरोपेली र चिनियाँ भू–उपग्रहबाट प्राप्त तस्वीर पनि हेर्ने गरिएको छ।

आधुनिक प्रविधिको प्रयोगका कारण हिजोआज मौसमको भविष्यवाणी पनि धेरै मिल्ने गरेको मौसमविदले बताएका छन्। आधुनिक प्रविधिको सहायताले आउने ७२ घण्टासम्मको मौसमको पूर्वानुमान गर्न सकिने मौसमविदको दावी छ।