काठमाडौं। भारतमा लोकसभा चुनाव २०१९ को छैटौँ चरणको मतदानका लागि प्रचारप्रसार जारी छ। नेता तथा उम्मेदवार एकअर्काविरुद्ध निकै तल्लो स्तरको गालीगलौजमा उत्रिएका छन्।
बाँकी रहेको छैटौँ र सातौँ चरणको मतदान आगामी मे १२ र १९ मा हुँदैछ। त्यसलगत्तै भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम आउनेछ। विभिन्न चरणमा निर्वाचन भएका कारण प्रतिस्पर्धीहरु मतदाता आफूतिर तान्न योजनावद्द रुपमा तिखो आलोचनामा उत्रिएका हुन्।
विशेषगरी भारतीय जनता पार्टी र भारतीय कांग्रेस एक अर्काविरुद्ध लागिपरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भाषणमा राजीव गान्धीलाई निशाना बनाइनु र त्यो विरुद्ध कांग्रेसको जवाफी हमला पनि रोचक नै छ। गान्धीले पनि मोदी २० दिनको प्रधानमन्त्री भएको भन्दै जवाफी हमला गरेका छन्।
बिहीबार पनि उत्तर प्रदेशको प्रतापगढमा भएको र्यालीमा कांग्रेसकी महासचिव प्रियंका गान्धी प्रधानमन्त्री मोदीमाथि खनिएकी छिन्। र्यालीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीलाई निशाना बनाउँदै प्रियंकाले भनिन्, ‘यिनीभन्दा कायर र कमजोर प्रधानमन्त्री मैले जिन्दगीमा देखेको थिइनँ। राजनीतिक शक्ति ठूला–ठूला प्रचारबाट आउँदैन, टीभीमा देखाएर पनि आउँदैन।’
‘राजनीतिक शक्ति त्यो हो, जसले जनतालाई सबैभन्दा ठूलो ठान्छ। नागरिकको कुरा सुन्ने शक्ति, नागरिकको समस्या सुलझाउने शक्ति, आलोचना सुन्ने शक्ति, विपक्षी दलको कुरा सुन्ने शक्ति। तर, प्रधानमन्त्री आफ्नो कुरा सुन्न छोड्दैनन् र जवाफ दिन पनि जान्दैनन्’, उनले भनिन्।



लाेकपाटी न्यूज

