कांग्रेसले महेन्द्रको ‘जय नेपाल’ बोकेर हिँडेको छ : सञ्चारमन्त्री

Baskota
लाेकपाटी न्यूज

काठमाडौं, २६ वैशाख। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले तत्कालीन राजा महेन्द्रले प्रयोगमा ल्याएको ‘जय नेपाल’ बोकेर हिँडेको आरोप लगाएका छन्।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कांग्रेस तत्कालीन राजा महेन्द्रले प्रयोगमा ल्याएको ‘जय नेपाल’ बोकेर हिँडेको बताएका हुन्। मन्त्री बाँस्कोटाले बीपीलाई अपदस्त गरेपछि महेन्द्रले जय नेपाल, पशुपतिनाथले सबैको कल्याण गरुन् भनेको स्मरण गराए। उनले कांग्रेसले त्यही जय नेपाल बोकेर हिँडिरहेको आरोप लगाए। ‘कांग्रेसले महेन्द्रले भनेको जय नेपाल शब्द बोकेर हिँडेको छ’, उनले भने, ‘के कांग्रेस महेन्द्रको जय नेपालवादी हो?’

यस्तै उनले नेपाली कांग्रेसले अनावश्यक विषयमा निहुँ खोजेको आरोप लगाए। कांग्रेसले साना साना विषयमा निहुँ खोजेर विपक्षको धर्म निर्वाह गरिरहेको उनको भनाइ छ। ‘कांग्रेस सानासाना विषयमा निहुँ खोजिरहेको र यो त विपक्षी दलको धर्म नै हो’, उनले भने। सरकारले ल्याएको नीति तथा कार्यक्रमको विरोध गर्न नसकेपछि कांग्रेस शब्दमा अल्झिएको उनको भनाइ थियो।

उनले कांग्रेसले सरकारको विरोध गरिरहे पनि सरकार र प्रतिपक्षी दलबीचको सम्बन्ध भने राम्रै रहेको प्रतिक्रिया दिए। ‘कांग्रेससँग सरकारको सम्बन्ध राम्रो छ। वार्ता नै गर्नुपर्ने गरी सम्बनध बिग्रेको छैन।’