नेकपा प्रवेशको चर्चा हल्ला मात्रै, असन्तुष्ट नेताहरूले बुझाए ज्ञापनपत्र (पत्रसहित)

upendra baburam bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २६ वैशाख। संघीय समाजवादी फोरमसँग पार्टी एकीकरण गरेकोमा असन्तुष्टि जनाउँदै डेढ दर्जन केन्द्रीय सदस्यहरूले आज समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन्।

देश संघीय प्रणालीमा गई राजनीतिक स्थायित्वको कोर्षमा गइसकेको अवस्थामा फेरि ११ प्रदेशको माग र जातीय एजेण्डा उचाल्ने कुराप्रति उनीहरूको असन्तुष्टि छ। पार्टीको नाम, झण्डा र नेतृत्व स्वीकार गरेर उपेन्द्रसामु समर्पण गरेको असन्तुष्टहरूको आरोप छ।

बिहीवार दिउँसो छलफलको तयारी भएको असन्तुष्ट मध्येका एक नारायण तिवारीले जानकारी दिए। समूहमा पूर्वमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुली, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्व सांसद ज्ञानेन्द्र कुमाल लगायत छन्।

असन्तुष्ट केन्द्रीय सदस्यहरू नेकपा प्रवेश नगरेको र यो एक हल्ला मात्रै भएको सदस्य तिवारीले बताए।